सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

दुर्घटना

चिसापानीगढीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

चिसापानीगढीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ, २७ कात्तिकः सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

सरकारले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन छानबिन समिति गठन गरिएको जनाएको छ ।

“सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ । यस दुःखद् घटनामा जीवन गुमाउनुहुने व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ साथै, उपचाररत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ–सर्लाही रुटमा सञ्चालनमा रहेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन बिहीबार अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी छ जना घाइते भएका थिए । दुर्घटनामा परी ज्यान गुमाउनुहुने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुनुहुन्छ ।

कार्यालयका अनुसार सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको छ । घाइतेहरूको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि