रुससँग युद्ध अन्त्य गर्ने विषयमा हुने आगामी वार्तामा युरोपेली प्रतिनिधिहरूलाई सहभागी गराउन अमेरिका र युक्रेन सहमत भएका छन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भूभागसम्बन्धी अडान नछाड्ने र विदेशी शान्ति सेना तैनाथ गर्न नदिने बताएपछि शान्ति सम्झौताको सम्भावना अझै अनिश्चित देखिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अमेरिकी विशेष दूत जारेड कुशनरले बिहीबार डब्लिनमा युरोपको सहभागिता सुनिश्चित हुने बताउनुभएको हो । यसअघि कुशनर र अर्का अमेरिकी दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग चार घण्टा छलफल गर्नुभएको थियो ।
पुटिनले युक्रेनमा विदेशी शान्ति सेना तैनाथ गर्ने प्रस्ताव अस्वीकार गर्दै त्यसलाई युद्ध जारी राख्ने प्रयासका रूपमा लिने बताउनुभएको छ । रुसले डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझियालाई आफ्नो भूभागमा गाभेको घोषणा गरे पनि ती क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न सकेको छैन । युक्रेन र पश्चिमा मुलुकले उक्त विलयलाई अवैध ठहर गर्दै आएका छन् ।
यसैबीच, रुसले युरोपको सुरक्षा संरचनामै पुनर्विचार गर्नुपर्ने माग अघि सारेको छ । युरोपेली सङ्घ (इयु) का अध्यक्ष एन्टोनियो कोस्टाले भने सुरक्षा व्यवस्था पुनः निर्माण गर्न आवश्यक नरहेको बताउनुभएको छ । फ्रान्सको समर्थनमा ३९ देशले युरोपेली सुरक्षासम्बन्धी निर्णयमा युरोपेली मुलुकको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
जेलेन्स्कीले रुसी जेट र ड्रोन रोक्ने युक्रेनको क्षमतामा स्टारशील्ड इन्टरनेट सेवाका नयाँ प्रतिबन्धले असर पारेको र यसबाट मानवीय क्षति बढेको बताउनुभएको छ ।





प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।