सर्लाही, २४ कात्तिक । आगामी छठ पर्वलाई सुरक्षित, व्यवस्थित तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सर्लाहीले सुरक्षा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलको अध्यक्षतामा छठ पर्वको सुरक्षा व्यवस्थापनसम्बन्धी बैठक बसेको हो ।
बैठकमा जिल्लाका विभिन्न स्थानमा आयोजना हुने छठ पूजालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने, पूजा स्थल तथा छठ घाटमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र चाडपर्वका क्रममा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।
बैठकमा छठ पूजा समितिका पदाधिकारी, सम्बन्धित वडाका वडा अध्यक्षहरू तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
छठ पर्वका अवसरमा नदी, पोखरी, तलाउ तथा अन्य जलाशयमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने भएकाले सुरक्षा सतर्कता अपनाउने, भीडभाड व्यवस्थापन गर्ने, आवागमन सहज बनाउने तथा शान्ति सुरक्षा कायम राख्न प्रहरी र स्थानीय सरोकारवालाबीच आवश्यक समन्वय गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
बैठकमा पर्वलाई मर्यादित, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन विभिन्न निर्णयहरू समेत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।










प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।