तिहार आउन अझै केही दिन बाँकी छ, तर बुटवलमा भने चाडपर्वको रौनक सुरु भइसकेको छ । सहरका मुख्य चोकदेखि सडक र सार्वजनिक संरचनासम्म रङ्गीचङ्गी बत्तीले सजिन थालेपछि बुटवल झिलिमिली बनेको छ ।
साँझ पर्दै जाँदा बत्तीको उज्यालोमा चम्किने सहरले तिहारको आगमनको संकेत गरिरहेको छ । तिहारलाई स्वागत गर्दै बुटवल उपमहानगरपालिकाले सहरका विभिन्न स्थानमा आकर्षक झलर जडान गरेको हो ।
आकाशे पुल, चोकचौराहामा रहेका स्तम्भ, सडक बत्ती तथा हाई मास्ट लाइटका पोलहरूमा रङ्गीचङ्गी झलर लगाइएको छ । बत्तीको सजावटले सहरका मुख्य क्षेत्रहरूलाई थप आकर्षक बनाएको छ ।
उपमहानगरपालिकाले सहर सजावटका लागि केही झलर भाडामा लिएको छ भने केही स्थायी प्रकृतिका बत्तीसमेत जडान गरेको जनाएको छ ।
सार्वजनिक संरचना र सडकका पोलहरूलाई समेत सजावटमा समेटिएपछि बुटवलका मुख्य क्षेत्रहरूमा उत्सवी माहोल देखिन थालेको हो । आवतजावत गर्ने यात्रु र स्थानीय बासिन्दाका लागि समेत बत्तीको सजावट आकर्षण बनेको छ ।
तस्वीर : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।