विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डनमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले विभिन्न देशका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले द्विपक्षीय पर्यटन सहकार्य, प्रवर्द्धन तथा लगानी विस्तारका विषयमा छलफल गरेका हुन् ।
यसक्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री राजेन्द्र सिंह शेखावत, भारतीय राज्यसभा सदस्य एवं प्रख्यात लेखिका तथा समाजसेवी सुधा मूर्ति, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी तथा श्रीलङ्काका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गेसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा द्विपक्षीय पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि, सांस्कृतिक आदानप्रदान, पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि तथा निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ ।
त्यसैगरी, नेपालको मौलिक सांस्कृतिक सम्पदा, हिमाली पर्यटन, प्राकृतिक सौन्दर्य, आध्यात्मिक तथा वेलनेस पर्यटनलगायत पर्यटकीय आकर्षणलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो ।
भेटका क्रममा मन्त्री पौडेलले डब्ल्यूटीएमलाई नेपालको पर्यटन सम्भावना अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने र नयाँ साझेदारी विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।
उनले नेपाललाई विश्व पर्यटनको आकर्षक, सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय साझेदार तथा निजीक्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरे । पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि र हवाई सम्पर्क विस्तारमार्फत नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।
नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने, नयाँ साझेदारी विकास गर्ने तथा द्विपक्षीय र बहुपक्षीय पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले डब्ल्यूटीएम लन्डनमा भएका भेटवार्तालाई महत्त्वपूर्ण रूपमा लिइएको छ ।
विश्व पर्यटन उद्योगको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल (ExCeL) प्रदर्शनी केन्द्रमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको समापन आगामी बिहीबार हुनेछ ।
यस वर्षको डब्ल्यूटीएम लन्डन ‘उत्थानशीलता, पुनरुत्थान र पुनराविष्कार : विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना भइरहेको छ । बदलिँदो विश्व परिवेश र चुनौतीका बीच पर्यटन क्षेत्रलाई थप सुदृढ तथा दिगो बनाउने, यसको पुनरुत्थानलाई गति दिने र नवीन सोच, प्रविधि तथा सिर्जनशीलतामार्फत विश्व पर्यटनको भविष्यलाई नयाँ दिशा दिने उद्देश्य नाराले समेटेको छ ।
विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मञ्चका रूपमा परिचित यस मेलामा विभिन्न देशका राष्ट्रिय पर्यटन बोर्ड, होटल तथा आतिथ्य सेवा प्रदायक, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ट्राभल कम्पनी, टुर अपरेटर तथा पर्यटन प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
आयोजकका अनुसार यस वर्ष चार हजारभन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन् । त्यस्तै, १८० भन्दा बढी देशबाट ४६ हजार पाँच सयभन्दा बढी पर्यटन विज्ञ, व्यवसायी तथा खरिदकर्ता सहभागी हुने अनुमान गरिएको छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।