नेपालमा रेडियोको इतिहास पढाउनेले लिने नाम हो तारिणीप्रसाद कोइराला । राणाविरुद्धको क्रान्तिको समयमा २००७ सालमा विराटनगरमा रेडियोमा आवाज दिएका अगुवा भएकाले कोइरालाको नाम आउँछ ।
२८ मंसिर २००७ मा बिहान साढे ८ बजे ‘यो नेपाल प्रजातन्त्र रेडियो हो’ भनेबाट धेरै इतिहास रेडियो नेपालसँग जोडिन्छ । उसो त त्योभन्दा अगाडि पनि भोजपुरमा ‘क्रान्तिकारी रेडियो’ कथा आउँछ । तर, यसबारेमा कमै मात्र लेखिएको छ । रेडियो नेपालको आधिकारिक वेबसाइटमा ‘संक्षेपमा रेडियो नेपाल’बारेमा पनि खासै चर्चा गरिएको छैन ।
राणाकालमै रेडियोको सुरुवात गरेका थिए पद्म शमशेरले
राणाकाल पूरापूर अँध्यारो काल मात्र थिएन, त्यो बेलामा पनि केही सुधारका काम पनि भएका थिए । सतीप्रथादेखि दासप्रथा उन्मूलनसम्म राणाकालमै भएको छ ।
पहिलो लिखित संविधानदेखि स्थानीय निकायको चुनावसम्म राणाले नै गरेका थिए । ठीक त्यसैगरी गोरखापत्रजस्तो अखबारदेखि रेडियोको प्रसारणसम्ममा राणाले नेतृत्व गरेका थिए ।
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’का अनुसार पद्म शमशेरले २००३ सालमा विश्वप्रचार अड्डा अर्थात् ब्रोडकास्टिङ स्टेसनको नाममा रेडियो खुलेको थियो ।
रेडियोबारेमा १४ माघ २००३ को गोरखापत्रको प्रथम पृष्ठमै जानकारी दिएर लेखिएको थियो, ‘नेपालमा रेडियो प्रचारको सूचना । अब उप्रान्तलाई प्रतिदिन दिउँसो १ देखि १–३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रोडकास्टलाई सज्जनहरूले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नुहोला ।’
त्यसको एक हप्तापछि गोरखापत्रको सम्पादकीयमै ‘जय होओस्– श्री ३ महाराजको’ भन्दै लेखिएको थियो, ‘आजकाल प्रतिदिन नेपालको बिजुलीघरले रेडियोको प्रचार गर्दै छ । स्टेसन शक्तिशाली नहुनाले चार भञ्ज्याङबाहिर आवाज पुगेको थाहा पाइएन । चार भञ्ज्याङभित्रलाई काम चलाउ सुनिदै छ ।’
अर्थात् भोजपुरको डाँडामा र विराटनगरको मैदानमा कांग्रेसको रेडियो घन्कनुभन्दा चार वर्षअगाडि नै काठमाडौं उपत्यकामा रेडियो घन्किएको थियो । ३ फागुन २००३ को गोरखापत्रमा भने राणाले चलाएको ‘नेपाल रेडियो’ विराटनगरमा पनि ‘केहीकेही’ सुनिएको भनिएको छ ।
यो क्रम अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरकालसम्म पनि चल्यो । उनकै पालामा रेडियोको अध्ययन गर्न कृष्णबहादुर केसीलाई बेलायत पठाइएको त्यो बेलाका भित्रिया भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’मा उल्लेख गरेका छन् । मोहन शमशेरले ६ असोज २००७ मा बनाएको मनोनीतहरूको ‘पहिलो संसद’मा पनि ‘चाँडै ब्रोडकास्टिङ स्टेसन पनि खडा हुने भएको छ’ भनेको पाइन्छ ।
भोजपुर र विराटनगरमा जस्तै कांग्रेस रेडियो पश्चिममा पनि थियो तर इतिहासमा गुमनाम
नेपाली कांग्रेससँग जोडिएको रेडियो कथामा खासगरी भोजपुर र विराटनगर मोर्चाको मात्र चर्चा गरिन्छ । त्यस्तै रेडियो पश्चिम क्षेत्रमा पनि सञ्चालानमा थियो । तर, त्यो पक्षको चर्चा नेपाली रेडियो इतिहासकारले खासै गरेका छैनन् ।
नेपालगञ्ज बजारलाई पनि नेपाली कांग्रेसका मुक्ति सेनाका अगुवाले नियन्त्रण लिइसकेका थिए । तत्कालीन बढाहाकिम ध्रुव शमशेर थिए त्यहाँ । कब्जा गरिएपछि विशाल जुलुस बाबुकृष्ण शर्माको नेतृत्वमा ल्याएर नारा घन्केको थियो– ‘ध्रुव शमशेरलाई फाँसी दे ।’
त्यो बेलाका मुक्ति सेनाका कमान्डर तथा पछि कम्युनिस्ट पार्टीका नेता भएका विष्णुबहादुर मानन्धरको पुस्तक ‘संघर्षका पानाहरू’मा उल्लेख भएअनुसार पछि मुक्ति सेनाले ध्रुव शमशेरलाई फाँसी दिएन । भारतीय सीमा कटाएर छोडिदियो । त्यसबेला सरकारी आकाशवाणी विद्रोही कांग्रेसीले नियन्त्रणमा लिए । नियन्त्रणमा लिएर रेडियो सञ्चालन गरे ।
नयाँ सञ्चालन गरिएको रेडियोको नाम दिएका थिए ‘रेडियो नेपालगञ्ज’ । त्यही रेडियोबाट सूचना र समाचार बहुभाषामा दिने गरेको मानन्धरले लेखेका छन् । उनले भनेका छन्, ‘नेपाली र अङ्ग्रेजी दुवै भाषाहरूमा समाचार प्रसार गरिन्थ्यो । अङ्ग्रेजीमा समाचार प्रसारण मैले नै गरेको थिएँ ।’









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।