सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विकास

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

तुलसीपुर (दाङ), २२ कात्तिकः दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् । सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ । जथाभावी फोहर फालिदैन ।

स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताउनुभयो । “सुरुका दिनमा सडकमा जथाभावी पशुचौपाया बाँध्ने, जथाभावी फोहर फ्याँक्ने ठूलो समस्या थियो”, उहाँले भन्नुभयो, “सडक र नालामा फोहर फाल्ने घरघरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन ।”

सुरुआती चरणमा टोलमा डस्टबिन नहुँदा बिजुलीका हरेक खम्बामा बोराहरू झुण्ड्याएर फोहर सङ्कलन सुरु गरिएको थियो । हाल भने स्ट्यान्ड बनाएरै ठाउँठाउँमा डस्टबिन राखिएका छन् । प्लास्टिक प्रदूषण रोक्न टोलभित्र प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कसैले प्लास्टिक जलाएको देखेर गोप्य सूचना दिएमा इनाम दिने र जलाउनेलाई कारबाहीसमेत गर्ने गरिएको छ । जसका कारण अहिले टोलमा प्लास्टिक जलाउने कार्य पूर्ण रूपमा रोकिएको छ ।

टोलको बैठकले ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने सङ्कल्पकासाथ नियम बनाएपछि यसरी टोल सुधार भएको उहाँको भनाइ छ । उहाँका अनुसार टोलको निर्णय नमान्ने तथा जथाभावी प्लाष्टिक जलाउनेलाई रु ५०० जरिवानासमेत गर्ने गरिएको छ । यही सामाजिक अनुशासनको जगमा टेकेर पार्विक टोल रुपान्तरण भएको अध्यक्ष खत्रीले बताउनुभयो ।

टोलको सरसफाइ र व्यवस्थापनलाई सहज बनाउन तीनवटा सेक्सनसमेत बनाइएको छ । प्रत्येक सेक्सनका प्रतिनिधिहरूको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार सम्पूर्ण टोलवासी भेला भई सरसफाइ गर्ने गरिएको छ ।

स्थान

लुम्बिनी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि