सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

समाज

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा (बाँके), २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गर्नुभएको छ ।

नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताउनुभयो । “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,” उहाँले भन्नुभयो, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो ।”

यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताउनुभयो । सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उहाँले बताउनुभयो ।

तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उहाँले स्थानीयले अग्रिम बुकिङ गरेको बताउनुभयो । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ । बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले
बताउनुभयो ।

उहाँका अनुसार, बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ । जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ । भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन् ।

तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताउनुभयो ।

स्थान

लुम्बिनी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि