सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

हेटौँडा, २६ कात्तिकः इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ । मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान करिब ६ः०० बजे दुर्घटनामा परेको हो ।

आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा थिए ।

काठमाडौँको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उहाँले बताउनुभयो ।

हेटौँडा अस्पतालमा उपचाररत यादवले राति करिब २ः०० बजे टीकाथलीबाट यात्रा सुरु गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीमा आफूसहित करिब १४ जना सवार थिए । यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन् ।

आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताउनुभयो । छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् ।

घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मुकेश यादवसँगै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ ।

मुकेशको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच, दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ ।

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली परिचालन गरिएको थियो ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ । भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन् ।

मृतकको पहिचान खुल्नेक्रम बाँकी रहेको एवं दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि