सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

युरोपको रोजगारी मोह त्यागेर मखनाखेतीमा रमाउँदै कृष्ण

युरोपको रोजगारी मोह त्यागेर मखनाखेतीमा रमाउँदै कृष्ण

झापा, २६ कात्तिकः रोजगारीका लागि युरोप जाने प्रवेशाज्ञा त्यागेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ कचनकवल गाउँपालिका–४ का ३६ वर्षीय कृष्ण भट्टराई अहिले मखनाखेतीमा रमाउनुभएको छ ।

सो खेतीका जानकार जाकिर हुसेनको परामर्शमा गत वर्ष पहिलोपल्ट उहाँले आफ्नै गाउँको १३ बिघा जमिनमा मखनाखेती सुरु गर्नुभएको थियो । उत्पादन भएको मखनाको दानालाई प्रशोधन गरेर नेपाली बजारमा बिक्री गर्न यसपालि मखना प्रशोधन उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो ।

कराहीमा भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजामा प्रसादका रूपमा निकै लोकप्रिय छ । लामो समयसम्म पानी जम्ने खेतमा मखनाखेती हुने गरेको छ । भट्टराईले आफ्नो १० कट्ठा र गाउँलेको भाडामा लिइएको १३ बिघा गरी कूल १३ बिघा १० कट्ठा क्षेत्रफलमा मखनाखेती गर्नुभएको थियो ।

उहाँले सगीता कृषि फर्म र जनजागरुप युवा कृषि फर्म दर्ता गरेर मखनाखेती र प्रशोधन व्यवसाय सञ्चालन गरिरहनुभएको छ । उहाँले प्रतिबिघा १० देखि १२ क्विन्टलसम्म मखनाको दाना उत्पादन भएको जानकारी दिँदै धानखेतीको तुलनामा यसबाट धेरै गुणा राम्रो आम्दानी हुने अनुभव सुनाउनुभयो । भाडामा लिइएको जग्गामा उहाँले प्रतिबिघा २५ मन धानको मूल्य दिने सर्त दिँदै आउनुभएको छ ।

उहाँले एक सय क्विन्टलभन्दा बढी मखाना उत्पादन भएको जानकारी दिनुभयो । जसलाई प्रशोधन गर्दा लगभग तीन हजार केजीभन्दा बढी खानयोग्य मखानाको फूल उत्पादन हुने अनुमान छ । खेतमा सङ्कलन गरिएको दानालाई प्रशोधन उद्योगमा आगोको रापमा फुराएर मकैको फूलजस्तो सेतो लाभा निकाल्ने काम धमाधम भइरहेको छ ।

प्रशोधित मखाना प्रतिकेजी रु एक हजार ८०० का दरले फर्मबाटै बिक्री हुने गरेको छ । प्रचलित बजार मूल्यअनुसार उहाँले यसपालि उत्पादन गरेको मखानाबाट रु ५० लाखभन्दा बढी आम्दानी हुने सम्भावना छ ।

उत्पादन भएको मखनाको दाना सस्तो दरमा भारतीय व्यापारीले किनेर लैजाने गरेका कारण आफूले स्वदेशी बजारमै बिक्री गर्ने बताउनुभयो । दानाबाट लाभा उत्पादन, प्याकेजिङ र बजारीकरणका लागि प्रशोधन उद्योग सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

“नेपालमा यसको प्रशोधन गर्न जान्ने दक्ष कामदार छैनन्,” उहाँले भन्नुभयो, “बाहिरबाट मुख्य कामदार मगाएर काम गरिरहेको छु । हार्भेस्टिङलगायतका काममा स्थानीयले रोजगारी पाइरहेका छन् ।” काठमाडौँ, धनगढी, विराटनगरसहित मुलुकका विभिन्न सहरमा मखना खरिदकर्ता कचनकबल आउने गरेका छन् ।

नेपालले वार्षिक ठूलो मूल्यको मखना भारतबाट आयात गर्दै आएको छ । हाल कचनकबलमा लगभग २०० बिघा क्षेत्रफलमा मखनाखेती हुँदै आएको छ । धान खेतीको तुलनामा बढी आम्दानी हुने भएकाले स्थानीयवासी मखनाखेतीतर्फ आकर्षित हुन थालेको कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई बताउनुहुन्छ ।

मखनामा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेले यसलाई नियमित आहारका रुपमा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि