वीरगन्ज (पर्सा), १९ कात्तिकः पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना र पोखरिया वीरगन्ज युवा समाजको सहकार्यमा उच्चाङगल रामदेव कलवार माध्यामिक विद्यालय पोखरियाका कक्षा ८ र ९ का विद्यार्थीले आज जनचेतनामूलक कार्यक्रम गरेका हुन् ।
नेपाल प्रहरी र युवा समाजका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा सवारी चलाउँदा अनिवार्य रूपमा हेल्मेट तथा सिटबेल्टको प्रयोग गर्नुपर्ने, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन नहुनेमा जोड दिइएको थियो ।
यस्तै, तीव्रगतिमा सवारी चलाउन नहुने, जथाभावी ओभरटेक नगर्ने, सवारीसाधनका आवश्यक कागजातहरू (लाइसेन्स, ब्लुक, बीमा आदि) साथमा राख्नुपर्नेजस्ता विषयमा नागरिकलाई सचेत गराइएको थियो ।
त्यसैगरी ट्राफिक सङ्केत र नियमको पूर्णपालना गरी दुर्घटनामुक्त समाज निर्माण गर्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको थियो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।