सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका चारवटा तेल ट्याङ्कर समुद्री बारुदी धरापमा परेर ध्वस्त भएको इरानले दाबी गरेको छ । ती ट्याङ्करमा आगलागी भएको र अझै जलिरहेको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले जनाएको छ ।

आइआरजीसीले बुधबार सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा हर्मुज जलघाँटीको दक्षिणी भागमा रहेको प्रतिबन्धित मार्गबाट जान खोजेका चारवटा तेल ट्याङ्कर नौसैनिक बारुदी धरापमा परेको उल्लेख गरेको छ । तीबाहेक अन्य दुईवटा जहाजलाई समेत रोकिएको इरानको दाबी छ । इरानी सेनाले जलघाँटी क्षेत्रमा एउटा ड्रोन खसालेको पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रमाथि अमेरिकाले आक्रमण गरेको बताउनुभएको एक दिनपछि इरानको यस्तो दाबी सार्वजनिक भएको हो । यसअघि हर्मुज जलघाँटीको सबैभन्दा ठूलो टापु केशममा आक्रमण भएको विवरण सार्वजनिक भएको थियो ।

तेहरानले हर्मुज जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ । युद्ध सुरु भएदेखि नै आफ्नो अनुमति नलिई जलघाँटी पार गर्न खोज्ने जहाजलाई इरानले निशाना बनाउँदै आएको छ ।

गत फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व महिनौँदेखि गतिरोधमा छ । अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता जारी रहे पनि कूटनीतिक समाधानको खासै सङ्केत देखिएको छैन । इरानले लामो समयदेखि राख्दै आएका मागमा वासिङ्टन सहमत भए मात्रै हर्मुज जलघाँटी पुनः खोल्न तयार रहेको जनाएको छ ।

अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले आफ्नो देश युद्धका लागि तयार रहेको बताउनुभएको छ । उहाँले इस्लामिक गणतन्त्रले ‘युद्धको ट्रिगरमा औँला राखेको’ उल्लेख गर्नुभएको छ ।

यद्यपि, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो सरकारले वार्तामार्फत सङ्कट समाधान गर्न चाहेको बताउनुभएको छ । उहाँले मङ्गलबार पुनः युद्ध सुरु भए त्यसबाट कसैलाई पनि फाइदा नहुने चेतावनी दिनुभएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि