सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

सरकारले आह्वान गर्‍यो ‘कुकुर तिहार रिल प्रतियोगिता’, उत्कृष्टलाई एक लाख पुरस्कार

सरकारले आह्वान गर्‍यो ‘कुकुर तिहार रिल प्रतियोगिता’, उत्कृष्टलाई एक लाख पुरस्कार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्रचार-प्रसारलाई जोड दिइरहेका छन् । सोहीअनुसार नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रवर्द्धनका लागि विभिन्‍न गतिविधिहरू भइरहेका छन् ।

जसअन्तर्गत पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । मन्त्री पौडेलको निर्देशनअनुसार यसअघि दसैँको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध संघसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्‌गे पिङ’ हालिएको थियो ।

मन्त्री पौडेलको पर्यटनलाई डिजिटल माध्यमबाट प्रबर्द्धन गर्ने योजनाअनुसार नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो । यसमार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रिल अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइस ओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि