१५ भदौ १८६९ मा १५ वर्ष उमेरका किशोर राजा गीर्वाणयुद्ध विक्रम शाहले एक लालमोहर जारी गरेर पुस्तक लेखन, पठन र संरक्षणमा ठूलो गुण लाउने काम गरे । केदारनाथ झालाई वर्षको १२५ रूपैयाँ तलब र उनका दुई सहयोगीलाई ७० रूपैयाँ तलब दिएर पुस्तकबारेमा विभिन्न उर्दी जारी गरे ।
विभिन्न बुँदामा ६ रोचक बुँदा यस्ता थिएः
१. पुस्तक सबैको सम्भार गर्नू
२. अशुद्ध भयाको पुस्तक शुद्ध गर्नू
३. टुट्याफुट्याको सिलाउनू
४. मुसा किरा पानी अरु बिगार्न्यासीत बचाउनू
५. दरबारमा नभयाको पुस्तक काम लागन्या छ भन्या दरबारबाट दाम लिई लिखाउनू/ किन्नू
६. पुस्तककोठामा रातभर बत्ती बालान्या तेल नामा पुस्तक लेखन्या कागत मसी हरिताल सीमरिफ लिनू
एक नम्बरले पुस्तकको सम्भार गर्न भनेको छ । दुई नम्बरले पुस्तकको तथ्यजाँच गरेर मिलाउन भनेको छ भने तीन नम्बरले पुस्तक बिग्रेर काम नलाग्ने भएको छ भने पुनः लेखन गर्नू अर्थात् अहिलेको भाषामा पुनःमुद्रण गर्नू भनेको छ ।
चार नम्बर बुँदामा पुस्तकलाई मुसा, किरा पानीलगायतका जोखिमबाट जोगाउनू भनेको छ । अहिलेको युगमा त आन्दोलनमा जलाउन खोज्नेबाट पनि जोगाउनु भन्ने अर्थ पनि लगाउन सकिन्छ ।
पाँच नम्बर झनै महत्त्वपूर्ण छ । राज्य सत्तालाई काम लाग्ने पुस्तक पैसा तिरेर कि लेखाउनू कि किन्नू भनिएको छ भने छ नम्बरले पुस्तक कक्षमा रातभरि उज्यालो दिन चाहिने तेल अनि वर्षभरि लेख्न चाहिने मसीको प्रबन्ध गरिएको कुरा छ ।
यी ठ्याक्कै त्यही कुरा हुन् जुन कुरा अहिलेका अर्काइभ गृहमा चाहिन्छ । केही प्रविधिगत कुरा परिवर्तन भएका छन् । अब तेलको ठाउँमा विद्युत् आएको छ । मसी दिनुपर्ने ठाउँमा डिजिटल संस्करणका पूर्वाधार दिए पुग्छ ।
२१४ वर्षअगाडि जारी गरिएको यो लालमोहर जस्तै काम अहिलेको युग सुहाउँदो तरिकाले इटहरीमा गर्न सकिन्छ । इटहरीमा गर्नको लागि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेतृत्व र सहकार्य गर्ने अवसर छ । कोशी प्रदेशस्तरीय ज्ञान केन्द्रको रूपमा एक विशाल कोशी आर्काइभ कम्ल्पेक्स वा प्यालेस बनाउन सकिन्छ । थारूलाई ‘प्रथम नागरिक’ घोषणा गरिएको कोशी प्रदेशका दुई उपमहानगरमा एक इटहरीको यो अर्काइभ प्यालेसलाई थारू आर्किटेक्चरको भवन बनाएर ज्ञान, विज्ञान, कला, साहित्य, पत्रकारिता र पुस्तकको खानी बनाउन सकिन्छ । प्रदेशको राजधानी नभएको इटहरीलाई अर्काइभको राजधानी बनाउन सकिन्छ ।
किन चाहियो कोशी अर्काइभ प्यालेस ?
आज हामीलाई सामान्य लागेका कुरा भविष्यमा असामान्य हुन्छन् । जस्तो २०१६ मा पहिलोपटक सिंहदरबारमा जननिर्वाचित सांसदले शपथ खानु त्यो दिनको लागि एक सामान्य घटना थियो भने अहिलेलाई त्यो भव्य लोकतान्त्रिक इतिहास हो । ठीक त्यसैगरी कोशी प्रदेशसभाका सदस्यले २०७४ सालमा वीरेन्द्र सभागृहमा शपथ खाँदाको दिनको तस्वीर पनि भविष्यमा त्यत्तिकै महत्त्वपूर्ण हुनेछ । यी र यस्ता कोशीका विभिन्न ऐतिहासिक कुराको संस्थागत जगेर्ना गर्न आवश्यक छ कोशी अर्काइभ प्यालेस ।
फेरि कोशी लेखनपठनमा अग्रणी प्रदेश हो । चाहे षडानन्दको भोजपुरको नेपालकै अग्रणी पाठशालाको कुरा होस् वा राणा कालमै खोलिएका विभिन्न पुस्तकालयको इतिहास होस् कोशी सधैँ अगाडि छ । भोलाकुमार श्रेष्ठले लेखेको पुस्तक ‘नेपालमा पुस्तकालय’का अनुसार २००७ सालमा राणा फालिनुअगाडि नै कोशी प्रदेश क्षेत्रमा पुस्तकालय थिए ।
जस्तैः
– २००३ सालमा विराटनगरमा ऋषिकेश कोइराला अध्यक्ष भएर खोलिएको आदर्श पुस्तकालय
– २००४ सालमा धरानका छविलाल पोखरेलको अगुवाइ तथा गोविन्द श्रेष्ठ, जगदीश नेपाल लगायतको साथमा खोलिएको सार्वजनिक विद्या भवन पुस्तकालय
– २००४ सालमा धनकुटामा खोलिएको सार्वजनिक शिक्षा निकेतन पुस्तकालय
– २००५ सालमा भोजपुरमा खोलिएको श्रीराम पुस्तकालय
– २००७ सालमा तेह्रथुमको आठराईमा खोलिएको जनप्रिय पुस्तकालय
अध्ययन, पठन र संकलनको यो ऐतिहासिक विरासत राणा कालमै बोकेको कोशी प्रदेशले अहिलेको संघीय गणतन्त्र युगमा युगसुहाउँदो अर्काइभ प्यालेस बनाउनैपर्छ । संघ सरकार संघकै अभिलेखालयलाई राम्रो बनाउन नसकिरहेको अवस्थामा पालिका र प्रदेश सरकारहरूले मिलेर इटहरीमा भव्य नमुना विकास गर्न सकिन्छ ।
के–के राख्न सकिन्छ ?
अर्काइभ प्यालेसमा कोशीका प्रमुख दस्तावेज राख्न सकिन्छ । कोशी जोडिएका र इतिहासमा काम लाग्ने सबैजसो दस्तावेज राख्न सकिन्छ । जसमा यी कुरा पर्छन्ः
– कोशी प्रदेशभरिका सबै नयाँ तथा पुराना अखबार
– कोशी प्रदेशका बारेमा लेखिएका वा कोशी प्रदेशका कवि, लेखक, साहित्यकारले लेखेका पुस्तक
– कोशी प्रदेशको इतिहास जोडिएका सबै दस्तावेज, पर्चा, पम्पलेट, माइन्युट तथा लिखतहरू
– कोशी प्रदेश क्षेत्रका ऐतिहासिक तस्वीर, अडियो तथा भिडियो
– कोशीका ऐतिहासिक, परम्परागत पेन्टिङहरू
र, सबैभन्दा महत्त्वपूर्ण चाहिँ माथिका सबै कन्टेन्टका डिजिटल भर्सन आवश्यक छ । अर्काइभमा रहेका अखबार, लिखतको डिजिटाइजेसनको चुस्त व्यवस्थापन आवश्यक छ । जस्तै, कसैको २०५८ साल मंसिरमा संकटकाल लगाउँदाको धरानको ‘ब्लास्ट’ पत्रिकाको कन्टेन्ट वा इटहरीमा धार्मिक आन्दोलन हुँदाको ‘पूर्वी हटलाइन’ दैनिकको समाचार कन्टेन्ट अथवा पहिलो मुख्यमन्त्रीको शपथको समाचार विराटनगरको ‘उद्घोष’ वा ‘न्यू सृष्टि’ दैनिकमा लेखिएको कन्टेन्ट कसैले खोज्दा फुत्त डिजिटल भर्सन दिन सकियोस् ।
ठीक त्यसैगरी कोशी प्रदेश सरकारको पहिलो माइन्युट होस् वा कोशीका मदन पुरस्कार पाउने साहित्यकार भगिराज इङ्नाम तथा मोहन मैनालीका पुरस्कार ग्रहणका मन्तव्य होस्, ती सबै फुत्त सार्न पाइयोस् । यस्तो चुस्त अर्काइभ राख्न सकिन्छ । अखबार भने लोप भएकाहरूको मात्र फिजिकल भर्सन तथा डिजिटल दुवै भर्सन राख्ने तर अहिले चलेकाहरूको भने डिजिटल राख्न सकिन्छ । त्यसले स्पेस कम लिन्छ ।
प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व के हुन्छ ?
प्रादेशिक रूपमा प्रदेशको ज्ञान केन्द्र बन्नेछ । प्रदेशको खोज अनुसन्धान गर्नेले अनिवार्य पुग्नुपर्ने मुकाम बन्नेछ । राष्ट्रिय रूपमा पनि राष्ट्रिय अभिलेखालयमा सीमित र त्यो अभिलेखालय पनि डिजिटाइज हुनमा धेरै कमजोरी छ । धेरै दस्तावेज पोकामा छन् । सर्वसाधारणको सहज पहुँचमा नभएको गुनासो मदन पुरस्कार विजेता लेखक तथा पत्रकार मोहन मैनालीले सार्वजनिक रूपमा भनिसकेका छन् ।
यसबाट सिक्दै कोशी अर्काइभ प्यालेसलाई प्राविधिक रूपमा चुस्त बनाएर सबैको पहुँचमा दिन सकिन्छ । अरू प्रदेशलाई सिक्ने अवसरको रूपमा राष्ट्रिय महत्त्व रहन्छ । उसो त कोशी आफैँ देशको म्यापमा धेरै कुरा हो । देशको सबैभन्दा होचो कचन कवलदेखि संसारको सबैभन्दा अग्लो सगरमाथा यही प्रदेशमा छ । ती ल्यान्डमार्कदेखि विभिन्न राष्ट्रिय ल्यान्डमार्कका दस्तावेज राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बढाउन सकिन्छ ।
कोशीको मैथिल इतिहासदेखि लिम्बूवानका ऐतिहासिक दस्तावेजले नेपाल र भारतका अनुसन्धानकर्मीलाई सीमापार अनुसन्धानको मुकाम इटहरी बन्छ । साम्बोटा लिपी लगायतका लिगेसी र भोट सम्बन्धका कथाले नेपाल–चीन जोड्ने अनुसन्धानकर्मीलाई सहज हुन्छ । यी सबैको कारणले प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक पर्यटनलाई यसले टेवा दिन्छ । गैरप्राज्ञिक क्षेत्रकालाई पनि इटहरीमा पुगेर छिर्नैपर्ने गन्तव्यको सूचीमा बनाउन सकिन्छ ।
को–कोसँग साझेदारी गरेर बनाउन सकिन्छ ?
दस्तावेज संकलन, संरक्षण र प्रवर्द्धनको काम भएकोले सबैभन्दा पहिलो त जग्गा चाहियो । पैसा चाहियो । लोभ गरेर कुचुक्क स्थानमा होइन, भव्य क्षेत्र बनाउन स्थानीय र प्रदेश सरकारले साझेदारी गर्नैपर्छ । मनपेट दिने स्थानीय संघसंस्था तथा व्यक्तित्वको पनि साथ अनिवार्य छ ।
प्रदेशभरिका अखबार रहने भएकोले सबै अखबार गृह साझेदार हुन् । पत्रकार साझेदार हुन् । किताबको लागि कवि, लेखक, साहित्यकार साझेदार हुन सक्छन् भने डिजिटाइज गर्नको लागि विज्ञ चाहिन्छ । त्यसको लागि प्राविधिक कलेज, त्यहाँका विश्वस्तरीय ज्ञान भएका विद्यार्थी अनि त्यो काममा स्वयंसेवा गर्न इच्छुक विश्वभरिका नागरिक साझेदार बन्न सक्छन् ।
विभिन्न भाषाभाषीका पुस्तक तथा दस्तावेज हुने भएकोले सम्बन्धित समुदायका अगुवा तथा संस्थाहरू अर्को महत्त्वपूर्ण साझेदार बन्न सक्छन् । सबैभन्दा महत्त्वपूर्ण त लाइब्रेरी तथा अर्काइभ क्षेत्रमा विदेशमा पढेर आएका वा विदेशी स्वयंसेवकसँग मिलेर विश्वस्तरीय बनाउन साझेदारी हुनुपर्छ । तर, यो संरचना बनाउन विदेशी सहयोग भने लिनु हुँदैन । आफ्नो इतिहासको दस्तावेज आफैँ राख्न सक्ने ल्याकत पालिका र प्रदेश सरकारले लिनुपर्छ ।
खर्च मात्र हुँदैन, आम्दानी पनि हुन्छ, यी छन् आम्दानीका पाँच पाटा
कोशी अर्काइभ प्यालेसको बहुतले भवनको वरिपरि गार्डेन अनि मुख्य राजमार्गबाट देख्न सकिने स्थानमा हुनुपर्छ । ताकि जोसुकैलाई चासो होस् । जो सुकैलाई के–के छ भन्ने भावना होस् । त्यसले सार्वजनिक ग्ल्यामर दिन्छ । सरकारी जग्गा वा व्यक्तिले बेचेको कुनै प्राइम लोकेसनको जग्गामा खर्च गर्न लोभ नगरिकन इतिहासमा लगानी गर्नुपर्छ । यो भनेको बाटो, पुलजस्ता सामान्य संरचनाको लगानी होइन । भविष्यको लगानी हो । इतिहासको सम्मानित मञ्ज हो । वर्तमानको अनुसन्धान धाम हो ।
जग्गामा आठ–दश करोड जाला । भवनमा आठ–दश करोड जाला वा डिजिटल अर्काइभको काममा तीन–चार करोड जाला । समग्रमा ३० करोड हाराहारीको खर्च होला । तर, एक लटको २० करोडको लगानीले आम्दानी पनि दिन्छ । यसका आम्दानीका विभिन्न पाटा छन्ः
१. क्याफे
भवनको सबैभन्दा मुनिको तलामा भव्य खाली ठाउँसहितको शहरकै जाउँ–जाउँ लाग्ने क्याफे हुनुपर्छ । यसले अर्काइभका तीन–चार जना स्थायी कर्मचारीको तलबको काम गर्न सक्छ । इटहरी चोकबाट पैदल चार मिनेट हाराहारीमा पुग्न सकिने मुख्य राजमार्ग छेउका कुनै क्षेत्रको सार्वजनिक वा निजी जग्गा वा दुवै मिलाएर प्राइभ लोकेसनमा भएपछि व्यावसायिक सम्भावना छ । त्यसको सम्मान गरेर पहिलो तलामा क्याफे चलाएर आर्थिक उपार्जन हुनुपर्छ ।
२. केही तलाका अडिटोरियम हलको भाडा
नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षमा चार करोड हाराहारी हल तथा डबली भाडामा लगाएर कमाउँछ । इटहरीमा चार करोड कमाउन त सम्भव नहोला । तर, विभिन्न हलमा विभिन्न कार्यक्रम गर्न सक्ने आकर्षक डिजाइन गरेर भाडामा लाएर वर्षमा लाखौँ आम्दानी गर्न सकिन्छ । विभिन्न कलेज, स्कुल तथा प्राज्ञिक कार्यक्रमको मुकाम बनाएर अतिरिक्त आम्दानीको माहाैल बनाउन सकिन्छ ।
३. सशुल्क डिजिटल अर्काइभ बिक्री
कसैलाई इमानसिंह चेम्चोङले चुनाव लड्दा बनाएको घोषणापत्र वा फाल्गुनन्दले दिएको प्रवचन वा लिम्बूवानको कुनै दस्तावेज चाहिएमा डिजिटल भर्सन माग्न सक्छ । त्यस्ता दुलर्भ सामग्रीको निश्चित दाम तोकेर बेच्न सकिन्छ । विभिन्न ऐतिहासिक व्यक्तिका परिवार, आफन्त तथा उनीहरूका संस्थाले पनि चाहेका दस्तावेज किन्न सक्ने वातावरण बनाउन सकिन्छ ।
पुराना अखबार कटिङदेखि विभिन्न दस्तावेजमा पनि यही तरिका अपनाउन सकिन्छ । तर, जुन शीर्षकमा जे खोजेको हो तत्काल हेर्न, डाउनलोड गर्न सकिने न्युयोर्क टाइम्सको अर्काइभ जस्तो बलियो व्यवस्था भने आवश्यक छ । त्यही भएर डिजिटाइजको लागि तीन–चार करोडको लगानीको कुरा गरिएको हो । यो लगानीमा भारत वा चीनका विश्वविख्यात प्राविधिक कम्पनी आएर काम गरिदिन सक्छन् ।
४. सशुल्क सदस्यता वा डिजिटल सदस्य
कोशी डिजिटल अर्काइभ प्यालेसले देश तथा विदेशमा भएका विभिन्न व्यक्तित्वलाई लाखभन्दा बढीकफ सशुल्क सदस्यता दिन सकिन्छ । धनाढ्य अर्काइभ प्रेमी यसका सदस्य बन्न सक्छन् । लाखभन्दा माथि रकम दिनेलाई मात्र यो ग्रुपमा जोड्ने प्याकेज ल्याउन सकिन्छ ।
त्यसबापत हलमा निश्चित प्रतिशत छुट । क्याफेमा छुट वा निश्चित समयसम्म निश्चित आयतनका अर्काइभ निशुल्क उपलब्ध गरिने सुविधा हुनुपर्छ । त्यस्तै जहाँसुकैका भएता पनि निश्चित महिनाका प्याकेज बनाएर डिजिटल सदस्यता बन्न सक्ने प्रावधान ल्याउन सकिन्छ ।
पोर्चुगलमा होस् वा पोल्यान्डमा अथवा केन्यामा होस् वा कोरिया, क्यानडामा होस् सबैको पहुँच हुने जस्तो ब्रिटिश न्युजपेपर अर्काइभ जस्तो प्रावधान ल्याउन सकिन्छ । त्यसले एनआरएनलाई आफूले चाहेको कन्टेन्ट लिन सहज हुन्छ ।
५. चन्दा सहयोग
कसैले मन पराएर थप खोज अनुसन्धानमा सहयोग होस् भनेर चन्दा दिन चाहेमा दिन सक्ने आधार पनि बनाउन सकिन्छ । अनुसन्धान गर्न आएका स्वदेशी तथा विदेशी अनुसन्धानकर्मी तथा विभिन्न व्यक्तित्वले स्वेच्छाले चन्दा दिन सक्छन् ।









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।