सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

पाँच प्रश्नोत्तरमा बुझौँ भुटानले बनाएकाे १०८ छोर्तेनको विश्व रेकर्डको कथा

पाँच प्रश्नोत्तरमा बुझौँ भुटानले बनाएकाे १०८ छोर्तेनको विश्व रेकर्डको कथा

शनिबार भुटानीहरू बिहानै ३ बजेदेखि काममा जुटे । १४ घण्टा अर्थात् साँझ ५ बजेसम्म सक्ने लक्ष्य राखिएको परियोजना त्योभन्दा अगाडि नै सकिएको छ । एकै दिनमा १०८ छोर्तेन बनाउने कामका विभिन्न आयाम छन् ।

छोर्तेन सार्वजनिक कार्यक्रममा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुल, भारतका केन्द्रीयमन्त्री किरेन रिजिजुलगायतका व्यक्तित्व सहभागी भएका थिए । कार्यक्रममा दलाई लामासँग जोडिएका तिब्बती बौद्ध धर्मका अगुवाहरू पनि सहभागी भएका थिए ।

यसैबारे पाँच प्रश्नोत्तरमा बुझौँ :

१. कहिले बन्यो १०८ छोर्तेन निर्माणको कथा ?

प्रोजेक्ट १०८ नाम दिइएको १०८ छोर्तेन एकै दिनमा बनाउने योजना भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुकको हो । उनले झण्डै आठ महिनाअघि २१ फेब्रुअरी (९ फागुन २०८२) मा सार्वजनिक गरेका थिए । राजाकै योजनाअनुसार छोर्तेन आज ठडिएका छन् ।

छोर्तेन बनाउनका लागि १२ किलोमिटरको दूरी तय गरिएको थियो, जहाँ राजाले आफैँ साइकलमा यात्रा गरेर निर्माण कार्यको अवलोकन गरेका थिए । १५ मिटर अग्ला छोर्तेनहरूबीचको दूरी पनि १०८ मिटर नै राखिएको थियो । बौद्ध धर्मको पवित्र संख्या १०८ लाई सम्मान गर्दै यसरी १०८ प्रयोग गरिएको थियो ।

२. कसरी एकै दिनमा बन्न सम्भव भयो १०८ छोर्तेन ?

छोर्तेन निर्माणका लागि कम्तीमा ४० हजार स्वयंसेवक खटिएका थिए भने प्राविधिक जनशक्ति पनि परिचालन गरिएको थियो । लाखभन्दा धेरैले सहभागिता जनाएको भुटानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यही जनशक्तिका कारण एकै दिनमा निर्माण कार्य सम्भव भयो । छोर्तेन निर्माण कार्यक्रममा जान विभिन्न यातायात व्यवसायीले निःशुल्क सेवा पनि दिएका थिए ।

३. कहाँ बनाइएको छ छोर्तेन अनि यसको महत्त्व के छ ?

छोर्तेन गेलेफु माइन्डफुलनेस सिटी (जीएमसी) मा बनाइएको छ । यो भुटानको अहिलेको विश्वस्तरीय मेगा परियोजना हो । एक देश, दुई व्यवस्था अवधारणाअन्तर्गत जीएमसीमा भुटानले सुनमा आधारित डिजिटल मुद्रा चलाउने उद्घोष गरेको छ ।

सन् २०२४ मा शाही आदेशबाट जीएमसीलाई विशेष प्रशासनिक क्षेत्रको उपमा दिइएको छ । भुटानको तराईमा रहेको भारतीय राज्य आसामसँग जोडिएको क्षेत्रमा यो परियोजना छ । परियोजनाको प्रचारप्रसार र धार्मिक पक्षलाई जोड्न छोर्तेन बनाइएको हो ।

४. जीएमसी के हो ?

भुटानले विश्व बजारमा बेच्ने तीन प्रमुख ब्रान्ड छन् । एक, प्रकृतिको संरक्षण । भुटानको संविधानमै ६० प्रतिशत भूभागमा जंगल राख्ने भनिएको छ । साथै, विश्वका कार्बन नेगेटिभ थोरै देशमध्ये भुटान पनि एक हो । दुई, वज्रयान सम्प्रदायको बौद्ध धर्म । तीन, ग्रस नेसनल ह्याप्पिनेस अर्थात् कुल राष्ट्रिय खुसी । यी तीनै प्याकेजलाई मिसाएर बनाइएको एउटा अलग भूगोल हो, जीएमसी क्षेत्र ।

यसको क्षेत्रफल ४ हजार ४६ वर्गकिलोमिटर छ । यो भनेको सिङ्गापुरभन्दा झण्डै चार गुणा ठूलो क्षेत्रफल हो भने भुटानको कुल क्षेत्रफलको १० प्रतिशत भूमि हो । भुटानका तीन विश्व ब्रान्डमा प्रविधि थपेर विश्वस्तरीय आर्थिक केन्द्र बनाउन जीएमसीलाई अगाडि सारिएको हो ।

खासगरी विश्वको आपूर्ति शृंखलामा भुटान जोड्न अनि भुटानबाट देश छोड्नेको ताँती कम गर्न यसो गरिएको बताइएको छ । दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न यो परियोजना ल्याइएको भनिएको छ ।

५. जीएमसीलाई भुटानले कत्तिको महत्त्व दिइरहेको छ ?

जीएमसीलाई अलग प्रशासनिक क्षेत्र बनाएर भुटानले गभर्नर तोकेको छ । गभर्नर छन् पूर्वप्रधानमन्त्री डा. लोते छिरिङ । यस्तै, भुटानले सिङ्गापुरसँग मिलेर यसको गुरुयोजना निर्माणमा काम गरेको छ भने अहिलेको पारो विमानस्थलबाहेक अर्को विमानस्थल जीएमसी क्षेत्रमा बनाएको छ । परीक्षण उडान गत वर्ष भारतको कोलकाताबाट जीएमसीसम्म भएको थियो ।

८१औँ संयुक्त राष्ट्रसंघको महासभामा भुटानका प्रधानमन्त्रीले एक मात्र मुद्दामा बोल्दै भनेका थिए, ‘म सेल्सपर्सन हुँ ।’ त्यहाँ उनले प्रचार गरेको विषय नै जीएमसी थियो । भुटानी राजाको स्वप्न परियोजना भएकाले सारा भुटानी शक्ति लगाएर जीएमसीमा जोड दिइएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि