सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

कृषि

परदेशको भूमिभन्दा आफ्नै गाउँ प्यारो

परदेशको भूमिभन्दा आफ्नै गाउँ प्यारो

बनेपा (काभ्रे) १७ कात्तिक : आजकाल पात्लेखेतका शिवहरि भुजेललाई परदेशी भूमिभन्दा आफ्नै गाउँ प्यारो लाग्न थालेको छ ।

पात्लेखेत गाँउ धुलिखेल नगरपालिका–११ मा पर्छ । यहाँको पूर्वको डाँडाबाट घामका किरणले गाँउ उज्यालो बनाउनुअघि नै ३८ वर्षीय शिवहरि भुजेल भने आफ्नो ओछ्यान छाडेर गाँउ नजिकै रहेको पोल्ट्री फार्मतर्फ लाग्नुहुन्छ । फार्मको ढोका खोल्नासाथ खोरभित्र कुखुराको चहलपहल सुरु हुन्छ । खोरभित्र पुगेर कुखुराको स्वास्थ्य अवस्था नियाल्नु, बिरामी वा कमजोर भएका कुखुरालाई छुट्याउनु, सफा पानी र सन्तुलित दानाको व्यवस्था मिलाउनु उहाँको बिहानको पहिलो र अनिवार्य दायित्व हो ।
गाउँका घरमा भर्खरै चुलो बालेर चिया पिउने तयारी हुँदै गर्दा शिवहरि भने कुखुराका खोर सफा गर्ने, दानाका बोरा ओसार्ने र फार्मको समग्र वातावरण व्यवस्थापन गर्ने कठिन शारीरिक श्रममा तल्लिन भइसक्नुभएको हुन्छ ।

शिवहरिको लगनशीलता र व्यस्तता केवल एउटा पोल्ट्री फार्मको खोरभित्र मात्र सीमित छैन । बिहानको फार्मको यो प्राविधिक र शारीरिक श्रम सकेलगत्तै स्थानीय हनुमान माध्यमिक विद्यालयतर्फ मोडिन्छ । संयोग र जीवनको सुन्दर मोड़ भनौँ, जुन विद्यालयको कक्षाकोठामा उहाँले बाल्यकालमा कखरा सिक्दै कक्षा १२ सम्मको शिक्षा हासिल गर्नुभएको थियो ।

आज त्यही विद्यालयमा उहाँ पछिल्लो दुई वर्षदेखि ‘कार्यालय सहयोगी’ का रूपमा निष्ठापूर्वक कार्यरत हुनुहुन्छ । आज आफ्नै गाउँमा दुई फरक–फरक श्रम क्षेत्रमा समय र पसिना खर्च गरिरहनुभएका शिवहरिको विगत पीडादायी थियो । केही वर्षअघि उहाँ वैदेशिक रोजगारीको सपना बोकेर मलेसिया पुग्नुभयो । परिवारको एक्लो छोरा हुनुको नाताले वृद्ध बाआमाको नियमित हेरचाह र औषधि उपचारको दायित्व उहाँकै काँधमा थियो ।

साथै, श्रीमती दुई छोरी र एक छोरासहितको सात जनाको परिवारको पालनपोषण, शिक्षादीक्षा र भविष्य सुदृढ गर्ने ठूलो जिम्मेवारी उहाँमाथि नै थियो । मलेसियामा सेक्युरिटी गार्ड (सुरक्षा गार्ड) का रूपमा लगातार तीन वर्ष बिताउनुभयो । १२ घण्टाको कडा ड्युटी, कडा अनुशासन र अपरिचित मानिसको बीचमा काम गर्दा आम्दानी र रोजगारीको अनुभव त भयो, तर त्यसबापत उहाँले तिरेको पारिवारिक मूल्य निकै ठूलो थियो ।

दसैँ–तिहारजस्ता चाडपर्व आउँदा, बाआमा बिरामी परेर अस्पताल भर्ना हुँदा वा छोराछोरीले बा सम्झेर रुँदा उहाँ केवल मोबाइलको भिडियो कलको स्क्रिनमा टोलाउन बाध्य हुनुहुन्थ्यो ।

“मलेसियामा पसिना बगाउँदा पैसा त हात पथ्र्यो, तर परिवारबाट टाढा रहँदाको त्यो एक्लोपन र मानसिक तनाब बयान गर्न सकिँदैनथ्यो,“ पुरानो दिन सम्झँदै भुजेल भन्नुहुन्छ, “त्यहाँ अरूका लागि १२–१४ घण्टा खट्दा लाग्थ्यो— यो मेहनत आफ्नैँ माटोमा गर्न पाए कति राम्रो हुन्थ्यो होला !”

परिवारका सदस्यको सुखदुःखमा साथ दिन नपाएको त्यही छटपटीले उहाँलाई स्वदेश फर्किने बाटो देखायो । तीन वर्षको सम्झौता सकिएपछि उहाँले फेरि विदेश नफर्किने र आफ्नै गाउँठाउँमा उपलब्ध अवसरलाई उपयोग गर्दै जीवन चलाउने दृढ सङ्कल्प गर्नुभयो । यही अठोटका साथ उहाँ विसं २०७६ मा स्वदेश फर्किनुभयो र गाउँकै एक पोल्ट्री फार्ममा कामदारका रूपमा जोडिनुभयो । सुरुका दिनमा कुखुरा पालनसम्बन्धी व्यावसायिक अनुभव नभएका कारण शिवहरिका लागि यो काम नयाँ थियो ।

कुखुराको सरसफाइ, औषधि उपचारको समय, चल्लाको तापक्रम व्यवस्थापन र दानाको मात्रा मिलाउने काम उहाँले सिक्नुभयो । हाल उहाँ कार्यरत फार्ममा दुई हजार ब्रोइलर कुखुरा रहेका छन् । ब्रोइलर कुखुराको एक लट तयार हुन करिब ४५ दिनको समय लाग्छ । यस अवधिमा कुखुराको हरहिसाब र २४सै घण्टा रेखदेख गरेबापत उहाँले मासिक रु १८ हजार पारिश्रमिक पाउनुहुन्छ ।

फार्म आफ्नै लगानीको नभए पनि उहाँ त्यसलाई आफ्नै सम्झेर दिनरात खट्नुहुन्छ । पोल्ट्री क्षेत्रमा बाहिरबाट हेर्दा सामान्य लागे पनि यसभित्र अनगिन्ती चुनौती छन् । बजारमा चल्ला, दाना र औषधिको मूल्य दिनप्रतिदिन बढ्दै जानु तर उत्पादित कुखुराको बिक्री मूल्य सधैँ अस्थिर र उतारचढावपूर्ण हुनु यस क्षेत्रको ठूलो समस्या हो ।

“कहिलेकाहीँ लागत खर्च नै नउठ्ने गरी कुखुराको भाउ घट्दा व्यवसायी घाटामा जान्छन्, जसको अप्रत्यक्ष असर काम गर्नेमा पर्छ”, उहाँ आफ्नो व्यावहारिक अनुभव सुनाउनुहुन्छ ।

उल्लेखित चुनौती बिहान ५ बजेदेखि रातिसम्मको व्यस्तताका बीच शिवहरिले समयको उत्कृष्ट व्यवस्थापन गर्नुभएको छ । विद्यालयको जागिर र पोल्ट्री फार्मको श्रमलाई सँगै लैजान उहाँलाई घरपरिवारको बलियो साथ मिलेको छ । विशेष गरी उहाँ विद्यालयमा ड्युटीमा रहेका बेला उहाँकी श्रीमतीले फार्ममा पुगेर दाना–पानी दिने र कुखुराको रेखदेख गर्ने काममा पूर्ण सहयोग गर्नुहुन्छ । पारिवारिक समन्वय र सहकार्यकै कारण उहाँलाई यो दोहोरो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सहज भएको छ ।

परदेशको तीतो यथार्थलाई छाडेर आफ्नै गाउँमा पसिना बगाउँदै गर्दा भुजेलको अनुहारमा एउटा अलग्गै चमक र आत्मसन्तुष्टि देख्न सकिन्छ । बिहान सबेरैदेखि रातिसम्म खट्नुपर्दा शारीरिक थकान अवश्य हुन्छ, तर त्यो थकानभन्दा आफ्नै परिवारको सामिप्यताले दिने खुसी धेरै गुणा ठूलो छ ।

बिहान काममा निस्किए पनि दिनको केही समय, साँझ–बिहान परिवारसँगै बसेर तातो भात खान पाउनु, आमाबुबाको रेखदेख आफैँले गर्न पाउनु र छोराछोरीको हुर्कदो बाल्यकाल आफ्नै अगाडि देख्न पाउनु नै उहाँका लागि जीवनको सबैभन्दा ठूलो धन बनेको छ ।

“नेपालमा काम छैन भनेर विदेशिनुअघि हामीले आफ्नै गाउँघरमा उपलब्ध साना–तिना अवसरहरू चिन्न सक्नुपर्छ”, शिवहरि आत्मविश्वासका साथ सन्देश दिनुहुन्छ, “विदेशमा अरूका लागि जति कडा मेहनत गरिन्छ, त्यसको आधा मेहनत मात्र आफ्नै माटोमा गर्न सकियो भने परिवारको साथमा रहेर सहजै जीवनयापन गर्न सकिन्छ । काम कहिल्यै सानो वा ठूलो हुँदैन, इमानदारी र लगनशीलता नै ठूलो कुरा हो ।”

वैदेशिक रोजगारीको मोहभङ्ग भएर आफ्नै गाउँमा दोहोरो श्रम गर्दै आत्मनिर्भरताको बाटो समातेका शिवहरि भुजेल आज पात्लेखेत गाउँका लागि मात्र होइन, रोजगारीको खोजीमा विदेशिन तयार भएका हजारौँ नेपाली युवाका लागि एउटा प्रत्यक्ष र प्रेरणादायी उदाहरण बन्नुभएको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि