सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

विराटनगरमा होटलमा जागिरको प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको खुलासा

विराटनगरमा होटलमा जागिरको प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको खुलासा

विराटनगर । होटलमा राम्रो कमाइ हुने काम लगाइदिने प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको घटना सार्वजनिक भएको छ। मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ मलायो रोडस्थित एक सुनसान घरबाट बन्धक बनाइएका दुई युवतीको उद्धार गरेपछि मानव बेचबिखन तथा ओसारपसारको गम्भीर घटना बाहिर आएको हो।

घटनामा संलग्न रहेको आरोपमा सुनसरी घर भई हाल मोरङको बुढीगंगा–२ बस्ने ४३ वर्षीय परवेज महमद पक्राउ परेका छन् भने विराटनगर–१३ का ४२ वर्षीय राम विलास महतो फरार छन्।

जिल्ला सरकारी वकिल कार्यालय, मोरङले पक्राउ परेका महमद र फरार महतोविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ। सरकारी पक्षले दुवैलाई १० देखि १५ वर्षसम्म कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराउन मागदाबी गरेको छ।

अभियोगपत्रअनुसार आर्थिक अवस्था कमजोर भएका र पढाइ छाडेर बेरोजगार बसिरहेका दुई युवती कामको खोजीमा विराटनगर आएका थिए। उनीहरू विराटनगरका विभिन्न गीतगजलमा सामान्य काम गर्दै आएका थिए। सोही क्रममा उनीहरूको परवेज र राम विलाससँग चिनजान भएको थियो।

आरोपितहरूले युवतीहरूलाई होटलमा राम्रो रोजगारी र आकर्षक आम्दानी हुने आश्वासन दिएका थिए। सुरुमा प्रस्ताव अस्वीकार गरे पनि धेरै पैसा कमाउन सकिने प्रलोभन देखाउँदै उनीहरूलाई २०८३ असोज २१ गते विराटनगर–१३ स्थित मलायो रोडको एक घरमा पुर्‍याइएको थियो।

रामनारायण साहको पुरानो घर मासिक १६ हजार रुपैयाँ भाडामा लिएर होटल सञ्चालन गर्ने बहानामा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ। घरका अगाडिका कोठामा होटलका केही सामान राखिए पनि पछाडिका चारवटा कोठामा युवतीहरूलाई राखेर ग्राहकसँग यौनसम्पर्क गराउने व्यवस्था मिलाइएको आरोप छ।

घरमा पुर्‍याएपछि दुवै युवतीलाई कोठाभित्र थुनेर बाहिर निस्कन रोक लगाइएको थियो। त्यसपछि विभिन्न पुरुषलाई कोठामा पठाउँदै उनीहरूसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न बाध्य पारिएको अभियोगपत्रमा जनाइएको छ। त्यसबापत ग्राहकबाट लिइएको रकम आरोपितहरूले आफैं राख्ने गरेको र युवतीहरूलाई कुनै पैसा नदिएको दाबी सरकारी पक्षको छ।

आरोपितहरूको दबाब, धम्की र शोषण सहन नसकेपछि असोज २२ गते पीडित युवतीहरूले प्रहरीसमक्ष सहयोग मागेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा परवेज घरमै रहेको र राम विलास भने केही समयअघि बाहिरिएको पाइएको थियो। प्रहरीलाई देखेपछि भाग्न खोजेका परवेजलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले घरको पछाडिको बन्द कोठाबाट दुवै युवतीलाई सकुशल उद्धार गरेको थियो। घटनास्थलबाट आवश्यक प्रमाणसमेत संकलन गरी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुशी काठमाडौं पठाइएको अभियोगपत्रमा उल्लेख छ।

प्रहरी हिरासतमा रहेका परवेजले बयानका क्रममा राम विलाससँग मिलेर होटल सञ्चालनको बहानामा युवतीहरू ल्याएको र उनीहरूलाई ग्राहकसँग सम्पर्क गराएर रकम असुल्ने योजना बनाएको स्वीकार गरेको अभियोगपत्रमा जनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता बसन्त काफ्लेले दर्ता गरेको अभियोगपत्रमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र दफा ४ को उपदफा (२) खण्ड (ख) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

ऐनको दफा १५ (१) (ख) अनुसार दुवै अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ। त्यस्तै, पीडित युवतीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा फरार अभियुक्त राम विलास महतोका नाममा म्यादी पुर्जी जारी गर्नसमेत सरकारी पक्षले अदालतसमक्ष माग गरेको छ।

मुद्दाको अन्तिम फैसला भने अदालतबाट हुन बाँकी छ।

स्थान

मोरङ, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि