प्रदर्शन नै रोकिने अवस्थासम्म पुगेको नेपाली फिल्म ‘पाँच पाण्डव’ अन्ततः पूर्वनिर्धारित समयमै शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । फिल्मले बुधबार बिहान मात्रै केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र पाएको थियो । तर, त्यही साँझ गृह मन्त्रालयले फिल्म प्रदर्शनसँगै बुकिङसमेत रोक्न निर्देशन दिएको निर्माण पक्षले बताएको थियो । गृह मन्त्रालयबाट ‘ठाडो निर्देशन’ आएपछि प्रदर्शन रोक्न मौखिक निर्देशन दिएको बताइएको थियो । तर, भोलिपल्ट सरकारी निकायहरूबीच भएको छलफलमा विषय मुख्यतः नेपालगञ्जको एउटा हलमा फिल्म चलाइए तोडफोड गर्ने धम्की आएको सूचनासँग जोडिएको बताइयो ।
बिहीबार सञ्चार मन्त्रालयमा निर्माण पक्ष, चलचित्र जाँच समिति तथा गृह र सञ्चार मन्त्रालयका प्रतिनिधिबीच छलफल भयो । त्यसपछि सेन्सर बोर्डबाट अनुमति पाइसकेको फिल्म नरोकिने निचोड निकालिएको थियो । चलचित्र जाँच समितिका विज्ञ सदस्य मनोज पण्डितका अनुसार फिल्म प्रदर्शन गर्ने अधिकार र त्यसका लागि आवश्यक सुरक्षा सुनिश्चित गर्नुपर्ने निष्कर्षसमेत बैठकले निकालेको थियो । निर्माणपक्षले पनि विज्ञप्ति जारी गर्दै २० कात्तिकदेखि देशभर फिल्म प्रदर्शन हुने स्पष्ट पारेको थियो ।
यसरी केही घण्टाको अन्योलपछि फिल्म हलमा त पुग्यो । तर, यसलाई गृह मन्त्रालयसम्म पुर्याउने विवाद के थियो ?
यसको सुरुवात फिल्मको नाम र प्रचार सामग्रीबाट हुन्छ ।
फिल्मको नाम नै ‘पाँच पाण्डव’ छ । पहिलो पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवका रूपमा प्रस्तुत गरिएको थियो ।
त्यसपछि अर्को पोस्टर आयो । रातो पहिरनमा इभा गिरी देखिइन् ।
त्यो पोस्टर सार्वजनिक हुँदा निर्माणपक्षबाटै इभालाई द्रौपदीका रूपमा चिनाइएको थियो । निर्देशक वसन्त निरौलाले समेत त्यतिबेला स्पष्ट रूपमा भनेका थिए, ‘हामीले यो सिनेमामा इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ ।’
त्यसपछि ट्रेलर आयो ।
हरिवंशको पात्र आफूलाई स्वर्गबाट पृथ्वीमा आएको युधिष्ठिर बताउँछ । उसले दुःख पाइरहेका आफ्ना भाइहरू खोज्छ, र भेटिएका पात्रलाई भीम, अर्जुन, नकुल र सहदेवसँग जोड्छ । यो महाभारतको हुबहु पुनर्कथन नहुन सक्छ । कथा वर्तमान नेपाली समाजमै चलेको हुन सक्छ । तर, पात्र, नाम र कथाको मुख्य विम्ब महाभारतबाट लिइएको कुरा फिल्मकै प्रचार सामग्रीले देखाउँछ ।
विवाद भने ‘राजा चाहिया छ’ गीत सार्वजनिक भएपछि चर्किएको थियो । क्यासिनोको परिवेशमा तयार गरिएको गीतमा इभा गिरी ग्ल्यामरस शैलीमा नाच्छिन् । हरिवंश आचार्यसहित फिल्मका अरु कलाकारसमेत त्यही गीतमा देखिन्छन् । त्यसपछि सामाजिक सञ्जालमा केही साताअघि द्रौपदी भनेर सार्वजनिक गरिएको पात्रलाई अहिले क्यासिनोको ‘आइटम’ गीतमा किन प्रस्तुत गरियो भन्ने प्रश्न उठाइएको थियो ।
आखिर को हुन् द्रौपदी ?
यो विवाद किन यति संवेदनशील बन्यो भन्ने बुझ्न महाभारतमा द्रौपदीको स्थान बुझ्नुपर्छ । महाभारतका पाँच पाण्डव हुन्– युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव । उनीहरूको कथा राज्य, सत्ता, परिवार, धर्म–अधर्मको द्वन्द्व हुँदै कुरुक्षेत्रको युद्धसम्म पुग्छ । द्रौपदी पाञ्चालका राजा द्रुपदकी छोरी र पाँचै पाण्डवकी पत्नी हुन् ।
महाभारतको सबैभन्दा चर्चित र पीडादायी प्रसङ्गमध्ये एउटा जुवाको सभासँग जोडिन्छ । पाण्डवले जुवा हार्दै गएपछि द्रौपदीसमेत दाउमा पर्छिन् । उनलाई राजसभामा बोलाएर अपमान गरिन्छ, र वस्त्रहरण गर्ने प्रयाससमेत हुन्छ । द्रौपदीले त्यही सभामा आफ्नो अधिकार, मर्यादा र आफूमाथि भइरहेको अन्यायबारे प्रश्न उठाउँछिन् ।
त्यसैले हिन्दू धार्मिक तथा सांस्कृतिक परम्परामा द्रौपदीलाई एउटा सामान्य काल्पनिक महिला पात्रका रूपमा मात्रै हेरिँदैन । उनी नारी स्वाभिमान, अपमानविरुद्ध प्रतिरोध र गरिमासँग जोडिएको महाभारतको अत्यन्त महत्त्वपूर्ण पात्र हुन् । यही कारण ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएपछि धार्मिक भावना अपमान गरिएको आरोपले ठाउँ पाएको हो ।
कन्टेन्ट क्रिएटर वेदिका केसी र पुष्कर खतिवडालगायतले फिल्म बहिष्कार गर्न आह्वान गरेका थिए । सामाजिक सञ्जालमा एकथरीले द्रौपदीलाई अनुचित रूपमा चित्रण गरिएको भन्दै विरोध गरे भने अर्कातर्फ कलाकार र निर्माणपक्षलाई गाली, धम्की र हिंसात्मक भाषा प्रयोग गरिएका प्रतिक्रिया पनि आए ।
विवाद चर्किएपछि निर्माण पक्षले भने फरक तर्क गर्यो । हरिवंश आचार्यले फिल्म महाभारतको कथा नभएको र त्यहाँबाट विम्ब मात्र लिइएको बताए । निर्देशक निरौलाले पनि गीतमा देखिएकी इभाको पात्र महाभारतकी द्रौपदी नै हो भनेर निष्कर्ष निकाल्न नमिल्ने बताए । उनले फिल्म नहेरी ट्रेलर र छोटा क्लिपकै आधारमा बहिष्कार अभियान चलाइएको गुनासो गरेका छन् ।
तर, यसअघि निर्माणपक्षकै भनाइले पनि उसको तर्कमाथि प्रश्न उठाएको देखिन्छ । फिल्म महाभारतको हुबहु कथा होइन भन्नु एउटा कुरा हो । तर, फिल्मको महाभारतसँग सम्बन्ध नै छैनजस्तो गरी प्रस्तुत गर्नु अर्को कुरा । नाम ‘पाँच पाण्डव’ राखिएको छ । हरिवंशको पात्र युधिष्ठिर हो, र ऊ स्वर्गबाट आएको बताउँछ । अरु पात्रलाई भीम, अर्जुन, नकुल र सहदेवसँग जोडिएको छ । पोस्टरमा पाँच पाण्डवलाई रथमा प्रस्तुत गरिएको छ । त्यसमाथि इभा गिरीको दोस्रो पोस्टर सार्वजनिक हुँदा निर्माणपक्षले नै द्रौपदी ‘रिभिल’ गरेको प्रचार गरेको थियो, र निर्देशकले उनी ‘द्रौपदीको क्यारेक्टर’मा रहेको बताएका थिए ।
त्यसैले दर्शकले इभाको पात्रलाई महाभारतकी द्रौपदीसँग जोड्नु उनीहरूको कल्पना मात्रै थिएन । त्यसका लागि निर्माणपक्षकै प्रचारले आधार दिएको थियो । विवाद बढ्दै जाँदा विश्वहिन्दू परिषद् नेपाल पनि औपचारिक रूपमा अगाडि आयो । उसले चलचित्र विकास बोर्डमा पुगेर पाँच पाण्डव र द्रौपदीजस्ता पात्रको धार्मिक तथा सांस्कृतिक गरिमामा असर पर्ने दृश्य भए सच्याउन वा हटाउन माग गर्यो ।
त्यसपछि बुधबार केन्द्रीय चलचित्र जाँच समितिले पूरै फिल्म हेरेर ‘यू’ प्रमाणपत्र दियो । तर, त्यसको केही घण्टामै गृह मन्त्रालयबाट प्रदर्शन रोक्ने मौखिक निर्देशन आएको खबर सार्वजनिक भयो । सञ्चार मन्त्रालयले निर्माणपक्षलाई बुकिङ रोक्न फोन गरेको थियो । यही घटनाले विवादमा अर्को प्रश्न थप्यो । राज्यकै आधिकारिक जाँच समितिले फिल्म हेरेर प्रदर्शन अनुमति दिएको केही घण्टामै अर्को सरकारी निकाय किन रोक्न अघि सर्यो ?
भोलिपल्टको छलफलमा भने सरकार पछाडि हट्यो । गृह र सञ्चार मन्त्रालयका प्रतिनिधिसमेत सहभागी बैठकले जाँच समितिको निर्णयको विश्वसनीयता कायम राख्नुपर्ने र फिल्म प्रदर्शन रोक्न नहुने निष्कर्ष निकाल्यो । अन्ततः ‘पाँच पाण्डव’ शुक्रबारदेखि पूर्वनिर्धारित समयमै हलमा पुगेको छ ।
अहिलेसम्म अधिकांश बहस पोस्टर, ट्रेलर र एउटा गीत हेरेर भइरहेको थियो । निर्माणपक्षले फिल्म पूरै हेरेपछि द्रौपदी र पाँच पाण्डवको विम्ब किन र कसरी प्रयोग गरिएको हो स्पष्ट हुने बताउँदै आएको छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।