सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गर्नुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पार्नुभएको छ ।

द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गर्नुभयो । यसअघि ब्लुमबर्ग न्युजले उहाँले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहनुभएका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिनुभएको छ । तर उहाँले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताउनुभयो ।

अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भन्नुभएको छ । रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि उहाँले आधारहीन बताउनुभएको छ ।

मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी हुनुभएको थियो । उहाँले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गर्नुभएको थियो । रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताउनुभएको थियो । भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि