सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

दीपावलीमा जुवातास खेल्ने २६ जना पक्राउ, नेपाली र भारतीय गरी झण्डै १० लाख नगद बरामद

दीपावलीमा जुवातास खेल्ने २६ जना पक्राउ, नेपाली र भारतीय गरी झण्डै १० लाख नगद बरामद

सर्लाही, २३ कात्तिक । दीपावलीको अवसरमा सर्लाहीमा जुवातास खेल्नेविरुद्ध प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा २६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय गरी ९ लाख ८१ हजार ३५ रुपैयाँ नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सदरमुकाम मलंगवा नगरपालिका–८ र ब्रह्मपुरी गाउँपालिकाका विभिन्न स्थानमा गोप्य सूचनाका आधारमा गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीमा उनीहरू पक्राउ परेका हुन् ।

मलंगवा नगरपालिका–८ स्थित भागनारायण चौधरीको घरमा जुवातास खेलिरहेको सूचनापछि प्रहरीले छापा मार्दा ९ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६ लाख ३० हजार १६० रुपैयाँ नेपाली र ३० हजार २५० रुपैयाँ भारतीय नगद, तासका तीन बुक तथा २५ थान मोबाइल फोन बरामद गरिएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–२ स्थित धनेस साहको कुखुरा फार्म र स्थानीय सन्तोष साहको घरमा प्रहरीले छापा मार्दा थप १७ जना पक्राउ परेका छन् ।

कुखुरा फार्मबाट एक लाख १५ हजार ८९५ रुपैयाँ नेपाली, ६०० रुपैयाँ भारतीय नगद, एक लाख ३० हजार रुपैयाँ उल्लेख भएको माछापुच्छ्रे बैंकको चेक तथा तासका तीन बुक बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी, सन्तोष साहको घरबाट दुई लाख ३ हजार ९३० रुपैयाँ नेपाली, २०० रुपैयाँ भारतीय नगद, छ थान डाइस तथा तास खेल्न प्रयोग गरिने विभिन्न सामग्री बरामद गरिएको छ ।

पक्राउ पर्नेमा मलंगवा, गोडैता तथा भारतको सोनवर्षा क्षेत्रका बासिन्दासमेत रहेका छन् ।

प्रहरीका अनुसार तीनवटै स्थानबाट गरी ९ लाख ४९ हजार ९८५ रुपैयाँ नेपाली र ३१ हजार ५० रुपैयाँ भारतीय नगद बरामद भएको छ । साथै, ६ बुक तास, २५ थान मोबाइल फोन, छ थान डाइस, बैंकको चेकलगायत जुवा खेल्न प्रयोग गरिने सामग्री नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका २६ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो ।

स्थान

सर्लाही, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि