सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्य समाचार

वीरगन्ज कारागारको पर्खाल नाघेर जबरजस्ती करणी मुद्दाका कैदी फरार

वीरगन्ज कारागारको पर्खाल नाघेर जबरजस्ती करणी मुद्दाका कैदी फरार

वीरगन्ज । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १४ वर्ष कैद सजाय भोगिरहेका एक कैदी वीरगन्ज कारागारबाट फरार भएका छन् ।

पर्साको पोखरिया नगरपालिका क्षेत्रका सतवरिया निवासी सुनिल साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका साहको कैद अवधि सकिन अब दुई वर्ष मात्रै बाँकी थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका साह बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर भाग्न सफल भएका हुन् ।

सरसफाइका क्रममा सुरक्षाकर्मीको निगरानीबाट बाहिरिएका उनले कारागारको नजिकैको पर्खाल नाघेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार कैदीको खोजीका लागि प्रहरीले सक्रियता बढाएको छ । उनलाई पक्राउ गर्न आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिएका छन् ।

कारागारभित्र कैद सजाय भोगिरहेका कैदी सरसफाइका क्रममा सुरक्षाकर्मीको आँखा छलेर फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ ।

स्थान

पर्सा, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि