उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले पहिचान चोरी र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ ।
एफबीआईका अनुसार ह्याकरहरूले अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ प्रविधि अपनाएर क्रिप्टोकरेन्सी तथा वेब–३ क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई निशाना बनाउँदै आएका छन् । यसै महिना एफबीआईले उत्तर कोरियासँग आबद्ध ह्याकरहरूमाथि क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लेटफर्म बाइनान्सबाट छ अर्ब अमेरिकी डलर चोरी गरेको आरोप लगाएको थियो । प्योङयाङले भने उक्त आरोप अस्वीकार गरेको छ ।
एफबीआईको साइबर शाखाका सञ्चालन निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली सरकारले आफ्ना अवैध हतियार कार्यक्रमका लागि रकम जुटाउन ठूलो परिमाणमा क्रिप्टोकरेन्सी चोरी गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा यसरी अर्बौं डलर चोरी गरिएको छ ।
एफबीआईले ‘फेसस्टिलर’ नाम दिएको साइबर अपराधको यस विधिबाट पछिल्लो १८ महिनामा ४० करोड डलरभन्दा बढी रकम चोरी भएको जनाएको छ । यो बाइनान्स ह्याकको घटनाभन्दा अलग रहेको पनि उसले स्पष्ट पारेको छ ।
यस विधिमा ह्याकरहरूले एआई प्रविधिबाट तयार पारिएका नक्कली अर्थात् ‘डिपफेक’ भिडियो प्रयोग गरी पीडितलाई विश्वासमा लिन्छन् । उनीहरूले पीडितका चिनेजानेका व्यक्तिको पहिचान अपनाएर भिडियो बैठकमा सहभागी हुन आमन्त्रण गर्छन् ।
त्यसपछि प्राविधिक समस्या भएको बहाना बनाई पीडितलाई कुनै लिङ्क खोल्न वा निर्देशन पालना गर्न लगाइन्छ । यस क्रममा पीडितको उपकरणमा हानिकारक सफ्टवेयर (मालवेयर) प्रवेश गराइन्छ ।
ह्याकरहरूले पीडितको सम्पर्क सूची, सामाजिक सञ्जाल र सञ्चार एपमा पहुँच बनाएपछि उनीहरूकै पहिचान प्रयोग गरेर अन्य व्यक्तिलाई समेत ठगीको निशाना बनाउने गरेको एफबीआईले जनाएको छ ।
एफबीआईको लस एन्जलस कार्यालयका सहायक निर्देशक प्याट्रिक ग्रान्डीले ‘फेसस्टिलर’ अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ विधि भएको बताउनुभयो । यसले प्राविधिक ज्ञान भएका र साइबर सुरक्षाप्रति सचेत प्रयोगकर्तालाई समेत झुक्याउन सक्ने उहाँको भनाइ छ ।
उहाँले भिडियो सम्मेलनका माध्यम र व्यक्तिगत सम्बन्धप्रतिको मानिसको विश्वासलाई ह्याकरहरूले दुरुपयोग गर्ने गरेको बताउनुभयो ।
एफबीआईका अनुसार अनुसन्धानका क्रममा ‘फेसस्टिलर’ का पीडितका ९०० भन्दा बढी वेबक्याम भिडियो बरामद गरिएका छन् ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।