सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

मनोरञ्जन

म्याग्दीको ग्रामीण परिवेशमा आधारित चलचित्र ‘सारथी’

म्याग्दीको ग्रामीण परिवेशमा आधारित चलचित्र ‘सारथी’

म्याग्दी, २७ कात्तिक : म्याग्दीको ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सारथी’ तयार भएको छ । आगामी मंसिर ११ गते देशभरका सिनेमाघरहरुमा एकैसाथ प्रर्दशन हुन लागेको ‘सारथी’को म्याग्दीको सबैभन्दा बिकट र दुर्गम मानिने गुर्जामा पहिलो पटक छायांकन गरिएको सिनेमा हो । सिनेमाका निर्देशक कुमार गजुरेलले प्रर्दशन मिति नजिकिएसँगै ‘पोष्टर’, ‘टे«लर’, शीर्ष गीत सार्वजनिकसँगै प्रचारप्रसार तीब्र बनाएको जानकारी दिनुभयो ।

“चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनालाई समेटेको छ,” उहाँले भन्नुभयो “गुर्जाको प्राकृतिक, सांस्कृतिक र जैविक सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गराउनु पनि छायांकनका लागि गुर्जा रोज्नुको एउटा कारण हो ।”

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे ‘प्रोडक्सन’को निर्माण तथा धिरज ‘इन्फिनिटी फिल्म्स’को सहकार्यमा तयार भएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी चलचित्रका निर्माता हुन् । बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुनुहुन्छ ।

संकल्प भुजेलले छायांकन गर्नुभएको चलचित्र सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको हो । राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक हुनुहुन्छ । चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ ।

गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ भने गीत प्रशान्त शिवाकोटीले लेख्नुभएको छ । नृत्य निर्देशन कविराज गहतराज, कला निर्देशन श्याम कार्की र ‘ड्रेस कोअर्डिनेसन’ गोविन्द खड्काले गर्नुभएको छ । सारथीको ‘मयाली’ बोलको शिर्ष गित सामाजिक सञ्जाल ‘युट्युव’मा सार्वजनिक भएको आठ दिनको अवधीमा तेईस लाख आठ हजार पटक हेरिएको छ ।

उक्त गितमा अभिनय गरेर ‘टिकटक’ र ‘फेसबुक रिल्स’ बनाइरहेका छन् । चलचित्र ‘आरआर फिल्म्स’ले वितरण गर्ने कार्यकारी निर्माता बेकबहादुर विश्वकर्माले बताउनुभयो । प्राकृतिक, सांस्कृतिक र जैविक सम्भावनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उजागर गराउनका लागि चलचित्र छायांकनका लागि गुर्जालाई रोजिएको उहाँले बताउनुभयो ।

गुर्जा र चुरेन हिमालको फेदीमा रहेको अल्पसंख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास रहेको गुर्जामा पहिलो पटक चलचित्र छायांकन भएको धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । चलचित्रको माध्यमबाट गुर्जाको प्रचारप्रसार भई पर्यटक आकर्षिक गराउन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सारथी मार्फत कलाकार उत्तम प्रधान र निरुता सिंह को जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लाग्नुभएको छ । मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका कलाकारको अभिनय रहनेछ । गिरी विक र गायत्रीले सारथीबाट चलचित्र अभिनयमा डेब्यु गर्नुभएको हो ।

ग्रामिण परिवेश र सामाजिक कथावस्तुमा आधारित चलचित्रमा अभिनयको अवसर पाउँदा उत्साही भएको कलाकार गिरी विश्वकर्माले बताउनुभयो । हाल पोखरामा बस्दै आएका गिरीको जन्मथलो पनि गुर्जा हो ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि