सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उहाँलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्ये कुनै पनि सहज देखिँदैन ।

एक सय २० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । राष्ट्रपति आइज्याक हर्जोगले आइतबार आइजेनकोटलाई सरकार गठनको आदेश दिनुभएको छ । उहाँलाई बहुमत जुटाउन २८ दिनको समय दिइएको छ । राष्ट्रपतिले आवश्यक ठानेमा थप १४ दिन म्याद दिन सक्नुहुन्छ ।

– अरब इजरायली दलको समर्थनमा अल्पमतको सरकार –

आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउन ‘राष्ट्रिय सङ्कटकालीन’ सरकार गठनको प्रस्ताव गर्नुभएको छ । त्यसका लागि उहाँले अन्य दल तत्काल सरकारमा सहभागी नभए पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न समर्थन जुटाउने विकल्प अघि सार्नुभएको छ ।

यसका लागि अरब इजरायली दलहरूको समर्थन महत्वपूर्ण हुन सक्छ । नेतान्याहू नेतृत्वको अति दक्षिणपन्थी सरकारको विभेदकारी नीतिप्रति असन्तुष्ट अरब समुदायका दलहरूले अक्टोबर २७ को निर्वाचनमा १९ सिट जितेका छन् । आइजेनकोटको विपक्षी गठबन्धनले ४८ सिट जित्दा नेतान्याहूको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ ।

अरब दलहरूको समर्थन पाएमा आइजेनकोटले आवश्यक बहुमत जुटाउन सक्छन् । तर यस्तो सरकार कमजोर हुने जोखिम छ । विशेषगरी गाजामा इजरायलको सैन्य कारबाहीलगायत विषयमा नीतिगत मतभेद देखिए सरकार टिकाउन कठिन हुन सक्छ ।

अरब इजरायलीहरूको प्रतिनिधित्व गर्ने दुई प्रमुख दलमध्ये आठ सिट भएको ‘राम’ पार्टी तुलनात्मक रूपमा मध्यमार्गी मानिन्छ । ११ सिट भएको वामपन्थी ‘जोइन्ट लिस्ट’ तटस्थ बसेमा पनि आइजेनकोटलाई सरकार टिकाउन सहज हुन सक्छ । तर दक्षिणपन्थी नेता एभिग्डोर लिबरम्यानले अरब दलको समर्थनमा बन्ने सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

अति–अर्थोडक्स दलसँग गठबन्धन –
अर्को विकल्प अति–अर्थोडक्स यहूदी दलहरूको समर्थन जुटाउनु हो । विपक्षी दलहरूले अनिवार्य सैन्य सेवाबाट अति–अर्थोडक्स समुदायलाई दिइएको छुट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । गाजा, लेबनान र इरानमा जारी युद्धका कारण रिजर्भ सैनिकहरूले पटकपटक सेवा गर्नुपरेको अवस्थामा उक्त छुटप्रति अन्य इजरायली समुदायमा असन्तुष्टि बढेको छ ।

तर लिबरम्यानले अरब दलसँग गठबन्धन गर्नुभन्दा अति–अर्थोडक्स दलसँग सहकार्य गर्न सकिने सङ्केत दिनुभएको छ । नेतान्याहूका समर्थक रहेका दुई दल शास र संयुक्त टोरा यहूदी धर्मसँग १३ सिट छन् । सैन्य सेवासम्बन्धी छुट कायम राख्ने कानुनी व्यवस्था सुनिश्चित भए उनीहरूले आइजेनकोटलाई समर्थन गर्न सक्ने सम्भावना छ ।

राष्ट्रिय एकता सरकार
आइजेनकोट र नेतान्याहू दुवैले राष्ट्रिय एकता सरकार गठनको प्रस्ताव गरेका छन् । तर दुवै आफूले नै सरकारको नेतृत्व गर्नुपर्ने अडानमा छन् ।

आइजेनकोटले नेतान्याहूलाई सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण रोक्न असफल भएको, देशमा विभाजन बढाएको र भ्रष्टाचारको आरोप लागेको भन्दै नेतृत्वका लागि अयोग्य ठहर गर्नुभएको छ । नेतान्याहूले पनि आइजेनकोटको नेतृत्वमा काम गर्ने इच्छा देखाउनुभएको छैन् ।

अन्य विकल्प सफल नभए नयाँ निर्वाचन टार्न राष्ट्रिय एकता सरकार गठन हुन सक्छ । राष्ट्रपति हर्जोगले पनि राजनीतिक ध्रुवीकरण कम गर्न यस्तो सरकारलाई स्वागत गर्ने सङ्केत दिनुभएको छ ।

सन् २०१९ देखि २०२२ सम्म इजरायलमा राजनीतिक गतिरोधका कारण पाँच पटक निर्वाचन भएको थियो । सन् २०२० मा नेतान्याहूले पूर्व सैन्य प्रमुख बेनी गान्ट्जसँग राष्ट्रिय एकता सरकार गठन गरे पनि गठबन्धन लामो समय टिक्न सकेन । त्यसपछि देश पुनः निर्वाचनमा गएको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि