सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
Placeholder avatar

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गर्नुभएको छ । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । इसेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उहाँले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताउनुभएको छ । उहाँले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उहाँको समर्थन ४६ सिटमा सीमित भएको छ ।

जोइन्ट लिस्टले नेतान्याहु र उहाँको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार इसेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जोइन्ट लिस्टका अध्यक्ष युसेफ जाबरिनले नेतान्याहु र उहाँका काहानवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन समर्थन गरिएको बताउनुभएको छ ।

बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताउनुभएको छ । उहाँले आइतबार इसेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि