सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गर्नुभएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उहाँको अभिव्यक्ति केही नरम देखिए पनि थप आक्रमणको सम्भावना कायमै छ ।

फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यसबारे महत्त्वपूर्ण बैठक भएका थिए । ट्रम्पले बिहीबार पत्रकारहरूसँग इरानको आणविक कार्यक्रम स्थायी रूपमा समाप्त गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्ने विषयमा अमेरिकाले चाँडै निर्णय गर्ने बताउनुभयो । उहाँले सम्भव भएसम्म इरानको बाँकी भाग नष्ट गर्न नचाहेको तर आवश्यक परे त्यसो गर्नुपर्ने हुन सक्ने उल्लेख गर्नुभयो ।

यसअघि ट्रम्पले इरानको बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिनुभएको थियो । इरानको पुनर्निर्माणमा २५ वर्ष लाग्न सक्ने उहाँको अनुमान छ । यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको भए पनि ह्वाइट हाउसको औपचारिक निर्देशन प्राप्त भइसकेको छैन ।

यसअघि अक्टोबर ८ मा ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको थियो । निर्वाचनपछि इन्धनको मूल्यवृद्धि र युद्धप्रति जनसमर्थन घटिरहेको अवस्थामा थप सैन्य कारबाहीले प्रशासनलाई राजनीतिक चुनौती दिन सक्ने देखिएको छ ।

यसैबीच, इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो देशको भूमि छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग गर्न नहुने बताउनुभएको छ । उहाँले सबै राष्ट्रको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

इरानमाथि थप आक्रमण गर्ने वा वार्ताबाट द्वन्द्व समाधान गर्ने अमेरिकी निर्णयले हर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्ने देखिएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि