सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँगको बढ्दो तनाव समाधान गर्न सैन्य उपायभन्दा कूटनीतिक तथा राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सैन्य समाधानले सङ्कट थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने उहाँको भनाइ छ ।

बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा उहाँले अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट निकास ननिस्किए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिनुभयो । इरानी विदेशमन्त्री अब्बास अराघचीले भने हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावबारे वार्ताका लागि इरानी प्रतिनिधिमण्डल कतारमा रहेको र इरान कूटनीति तथा आत्मरक्षा दुवैका लागि तयार रहेको बताउनुभएको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धमा युएईले तीन हजारभन्दा बढी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सामना गरेको थियो । त्यसयता खाडी मुलुकहरूले रक्षा क्षमता विस्तारमा अर्बौं डलर खर्च गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जायानीले इरानले समुद्री मार्ग, हवाई क्षेत्र र सञ्चार पूर्वाधारलाई लक्षित गरी क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको आरोप लगाउनुभयो । आइआइएसएसका अनुसार युद्धको उत्कर्षमा इरानले बहराइनतर्फ पाँच सय ड्रोन र करिब दुई सय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सम्मेलनमा खाडी सहयोग परिषद्का सदस्य राष्ट्रबीच साझा रक्षा रणनीतिको अभाव पनि प्रमुख चिन्ताका रूपमा उठेको थियो । गर्गसले गम्भीर सुरक्षा सङ्कटका बेला खाडी मुलुकहरू सामूहिक रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि