कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् ।
चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख आर्थर मेन्श र नोबेल पुरस्कार विजेता अनुसन्धानकर्ता जेफ्री हिन्टन सहभागी हुनुहुनेछ ।
एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग जोडिएको विवादका कारण एआई क्षेत्रको सुरक्षा विषयले पनि बैठकमा स्थान पाउन सक्ने इयुका एक अधिकारीले बताएका छन् । एनभिडिया औपचारिक कार्यसूचीमा नरहे पनि नेताहरूले त्यसबारे छलफल गर्न चाहेमा रोक नलगाइने उहाँको भनाइ छ ।
बैठकअघि एस्टोनिया र फिनल्यान्डले गम्भीर एआई घटनाको सामना गर्न इयुस्तरको व्यवस्था आवश्यक रहेको बताएका छन् । एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिचालले विगतमा जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजका लागि बाह्य मुलुकमाथि निर्भर हुनुपरेको अवस्थाबाट पाठ सिक्दै नयाँ प्रविधिमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।
मिस्ट्रलका प्रमुख मेन्शले युरोपमै उन्नत एआई विकास गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ । गुगलका पूर्वअनुसन्धानकर्ता हिन्टनले भने एआईबाट रोजगारी, नागरिक अधिकार र सुरक्षामा पर्न सक्ने प्रभावबारे छलफल गर्नुहुनेछ । उहाँ र कम्प्युटर वैज्ञानिक योशुआ बेङ्गियोले च्याटजिपिटी सार्वजनिक भएपछि एआईका सम्भावित जोखिमबारे चेतावनी दिनुभएको थियो ।
सेन्टर फर युरोपियन रिफर्मका अनुसन्धानकर्ता जेम्स ग्रीनले युरोपलाई एआईसम्बन्धी स्पष्ट रणनीति आवश्यक रहेको बताउनुभएको छ । उहाँले व्यावसायिक वातावरण सुधार, उन्नत प्रविधिमा पहुँच, जिम्मेवार प्रयोग तथा सम्भावित हानि कम गर्न नियमन र अन्तर्राष्ट्रिय साझेदारीमा जोड दिनुभएको छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।