नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंह ‘रोयल’ अहिले एनपीएल सिजन- ३ को अनुगमन तथा मूल्यांकन समितिका संयोजक हुन् । होटल व्यवसाय र निर्माण-ठेक्कासमेत गर्ने उनी पूर्वखेलाडीसमेत हुन् ।
क्यानको केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका उनी नेपाली क्रिकेटको अहिलेको उचाइसम्मको यात्रामा आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको दाबी गर्छन् । यसअघि एनपीएलको आय-व्यय र अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्ने मागसहित क्यान नेतृत्वलाई प्रश्न गर्ने पदाधिकारीमध्ये पनि उनी एक थिए । यद्यपि, आफूले उठाएका कतिपय विषय सम्बोधन हुँदै गएको उनी बताउँछन् ।
शिलापत्रसँगको अन्तर्वार्तामा सिंहले एनपीएलको तेस्रो संस्करणलाई विगतको तुलनामा ठूलो प्रगति भएको प्रतियोगिताका रूपमा व्याख्या गरे । आईसीसीको स्वीकृति, डीआरएस, ठूला विदेशी खेलाडीको आगमन, फ्लडलाइटमा खेल र बढ्दो व्यावसायिक आकर्षणलाई उनले एनपीएलको सफलताका रूपमा प्रस्तुत गरे । तर प्रतियोगिता कमजोरीरहित नरहेको पनि उनले स्वीकार गरे ।
सिट व्यवस्थापन, दर्शकलाई दिइने सुविधा र केही प्राविधिक पक्षमा कमजोरी देखिएको उनको भनाइ छ । प्रतियोगिता चलिरहेकै बेला सम्भव भएका सुधार गर्नुपर्ने र बाँकी विषयलाई आगामी संस्करणमा सच्याउनुपर्ने उनले बताए ।
अहिले अलि बढी चासोको विषयमध्ये एक भीआईपी सिटको प्रयोग पनि हो । सर्वसाधारणले टिकट नपाएको अवस्थामा प्रभावशाली व्यक्ति, सामाजिक सञ्जालका चर्चित अनुहार र पहुँचवालाले भीआईपी क्षेत्रमा स्थान पाएको भन्दै प्रश्न उठिरहेको छ । सिंहले भीआईपीका नाममा सिटको दुरुपयोग भएको कुरा अस्वीकार गरेनन् । यसबारे सम्बन्धित समितिले जवाफ दिनुपर्ने र आफूले पनि सुधारका लागि सुझाव दिने बताए ।
तर, एनपीएल अनुगमन तथा मूल्यांकन समितिकै संयोजक रहेका सिंहले प्रतियोगिताका कमजोरीबारे सोधिएका धेरै प्रश्नको उत्तर गभर्निङ काउन्सिलतिर सारे । निर्णय गर्ने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी गभर्निङ काउन्सिलको भएको उनको तर्क थियो ।
सिंह एनपीएलमा आएका विदेशी नामबाट भने निकै उत्साहित देखिए । उनका अनुसार विश्व क्रिकेटका चर्चित खेलाडी नेपाल आउनु नेपाली क्रिकेटका लागि सामान्य उपलब्धि होइन । उनले विशेष रूपमा पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तरको उदाहरण दिए । अख्तर एनपीएलमा खेलाडीका रूपमा भने आएका होइनन् । उनी आधिकारिक प्रसारक हिमालय स्पोर्ट्सको प्रिम्याच र पोस्टम्याच कार्यक्रममा विशेष अतिथि तथा विश्लेषकका रूपमा नेपाल आएका हुन् । तैपनि विश्व क्रिकेटमा १६१.३ किलोमिटर प्रतिघण्टाको तीव्र बलको कीर्तिमान बनाएका खेलाडीलाई कीर्तिपुरमा प्रत्यक्ष देख्न पाउनु धेरै समर्थकका लागि आफैँमा विशेष अनुभव थियो ।
‘कुनै समय नेपाली समर्थकले टेलिभिजनमा मात्रै देखेका विश्वचर्चित अनुहार अहिले नेपालको क्रिकेट हेर्न, त्यसबारे बोल्न र यहाँका समर्थकसँग भेट्न आइरहेका छन्’, सिंहले भने, ‘यसले एनपीएलको चर्चा र नेपाली क्रिकेटको पहुँच दुवै बढाएको छ ।’
तर, पाकिस्तानी खेलाडीको सहभागितामा पाकिस्तान क्रिकेट बोर्डले गरेको अन्तिम समयको आनाकानीप्रति उनले दुःख व्यक्त गरे । पाकिस्तानका टी-२० कप्तान साहबजादा फर्हान नेपाल आइसकेर पनि खेल्न नपाई फर्किए । जनकपुर बोल्ट्ससँग जोडिएका इफ्तिखार अहमद र हुनैन शाह पनि एनओसी नपाएपछि मैदानमा नउत्रिई फर्किएका थिए । पीसीबीको अनुमति नीतिले फ्रेन्चाइजको तयारी बिगारेको र समर्थकलाई निराश बनाएको थियो ।
सिंहले क्रिकेट बोर्डबीचको सम्बन्ध र प्रतियोगिताको विश्वसनीयताका लागि यस्तो अवस्था नआएको भए राम्रो हुने बताए । खेलाडी अनुबन्ध गरिसकेपछि, टिकट र प्रचारमा उनीहरूको नाम प्रयोग भइसकेपछि अन्तिम समयमा अनुमति रोकिनुले टोलीसँगै प्रतियोगितामाथि पनि असर पर्ने उनको बुझाइ थियो ।
एनपीएलसँगै आफ्नो ध्यान अर्को ठूलो प्रतियोगितातिर पनि रहेको सिंहले बताए । सन् २०२७ को आईसीसी यू-१९ महिला टी–२० विश्वकप बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्दै छन् । जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन् । नेपालतिर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदान प्रतियोगिताका आधिकारिक स्थल हुन् ।
विश्वकप नेपाल ल्याउन आफूले भूमिका खेलेको दाबी गर्दै सिंहले अहिले विशेषतः मूलपानी मैदानको तयारीमा जुटेको बताए । पिच, दर्शक बस्ने व्यवस्था, खेलाडीका सुविधा र आईसीसीले तोकेको मापदण्ड पूरा गर्नु अबको प्रमुख चुनौती हुनेछ ।
समग्रमा सिंहले एनपीएलको प्रगतिमा गर्व गरे, कमजोरी रहेको स्वीकारे र सुधार आवश्यक रहेको पनि बताए । तर, अनुगमन समितिको संयोजकका रूपमा कमजोरीको जिम्मेवारी कति लिने भन्ने प्रश्नमा उनी स्पष्ट देखिएनन् । सफलताको हिस्सेदारी लिन उनी अगाडि देखिए, तर अव्यवस्थाको उत्तर खोज्दा धेरैपटक गभर्निङ काउन्सिलतिर फर्किए ।
एनपीएल ठूलो भएकोमा सन्देह छैन । अब यसलाई अझ विश्वसनीय बनाउने परीक्षा ठूला खेलाडी ल्याउनुमा मात्रै नभएर भीआईपी सिटदेखि आर्थिक पारदर्शिता र दर्शकको सुविधासम्म उठेका प्रश्नको स्पष्ट उत्तर दिन सक्नुमा हुनेछ । उनले यस कुरामा सहमति पनि जनाए ।
भिडियोमा हेर्नुहोस् उनको अन्तर्वार्ता







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।