सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

कर्णालीलाई पदक दिलाउने गरी तयारी थाल्नुस्, बजेटको अभाव हुँदैन : मुख्यमन्त्री शाही

कर्णालीलाई पदक दिलाउने गरी तयारी थाल्नुस्, बजेटको अभाव हुँदैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आइतबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले पदकका सामु बजेटको समस्या ठूलो नभएको बताए ।

‘तपाईंहरू राम्रा खेलाडी छनोट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनोट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन । तपाईंहरूले मागेकोभन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ,’ उनले भने, ‘१०औँ राष्ट्रिय खेलकुद हाम्रो लागि अवसर र चुनौती दुवै हो । सबै मिलेर चुनौतीको सामना गरौँ, अवसरको उपयोग पनि गरौँ ।’

मुख्यमन्त्री शाहीले १०औँ राष्ट्रिय खेलकुदको व्यवस्थापन प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको औँल्याए ।

प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो । साथै, उनले अब पनि प्रतियोगिता स्थगित हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरे ।

छलफलमा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरेको धारणा राखे । ‘बाँकी उपसमितिले केकति काम गरिरहेका छन्, त्यसमा हाम्रो पनि चासो छ,’ उनले भने, ‘प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौँ ।’

छलफल कार्यक्रममा प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष मधुवन बिसीलगायतले सुझाव दिएका थिए ।

प्रतियोगिता यही आगामी १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा हुँदै छ ।

स्थान

कर्णाली प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि