एनपीएल चलिरहँदा कीर्तिपुरको मैदानमा स्कोर मात्रै बदलिएको छैन, विदेशी खेलाडीको सूची पनि लगातार बदलिरहेको छ । कोही आफ्नो सम्झौताको अवधि सकिएर फर्किएका छन्, कोही अर्को प्रतियोगिता खेल्न जाँदै छन् । केहीले क्रिकेट बोर्डबाट अनुमति नपाउँदा नेपाल आएर पनि खेल्न पाएनन् । उनीहरूका ठाउँमा नयाँ खेलाडी आउने क्रम पनि जारी छ ।
सबैभन्दा पहिले सुदूरपश्चिम रोयल्सका शेरफन रदरफोर्ड फर्किए । उनले सुदूरपश्चिमका लागि चार खेल खेले । अपेक्षाअनुसार ठूलो इनिङ्स खेल्न नसके पनि नेपाली समर्थकको माया लिएर फर्किएको उनले बताए । उनको अनुपस्थितिमा वेस्ट इन्डिजकै अलराउन्डर फेबियन एलेन टोलीमा जोडिँदै छन् । एलेन तल्लो क्रममा आक्रामक ब्याटिङसँगै बायाँहाते स्पिन गर्न सक्छन् । रदरफोर्डले पनि आफ्नो बिदाइका क्रममा एलेन चाँडै नेपाल आइपुग्ने बताएका थिए ।
जनकपुर बोल्ट्सका मोइन अलीको एनपीएल यात्रा पनि टुंगिएको छ । मोइन अब अबुधाबी टी-१० मा देखिनेछन् । उनी त्यहाँ अरेबियन एसेसका कप्तान हुन् । जनकपुरले उनको स्थानमा जिम्बाब्वेका अलराउन्डर रायन बर्ललाई टिममा ल्याएको छ । बर्ल बायाँहाते ब्याटर हुन् र लेगस्पिन पनि गर्न सक्छन् ।
मोइनसँगै फर्किने भनिएका आन्द्रे रसेलको योजनामा भने अन्तिम समयमा रोचक परिवर्तन आएको छ । जनकपुरविरुद्ध २९ बलमा अविजित ५२ रन बनाउनुका साथै चार विकेट लिएपछि रसेलले नेपालमा थप एक खेल बस्ने निर्णय गरेका छन् । अब उनले बिहीबार काठमाडौं गोर्खाजविरुद्ध खेल्नेछन् ।
यस खेलमा एकातिर रसेल र अर्कोतिर डेभिड वार्नर हुने भएकाले दर्शकले दुई ठूला टी-२० स्टारको प्रत्यक्ष प्रतिस्पर्धा हेर्न पाउनेछन् । त्यसपछि भने रसेल अबुधाबी टी-१० का लागि यूएई जानेछन् ।
फर्किने सूचीमा पाकिस्तानी खेलाडीको छुट्टै प्रसङ्ग छ । पाकिस्तानका टी-२० कप्तान साहबजादा फर्हान कर्णाली याक्समा आबद्ध भएर नेपाल आएका थिए । तर, पाकिस्तानको श्रीलंका भ्रमण र बोर्डको अनुमतिसम्बन्धी समस्यापछि उनी एनपीएल नखेली फर्किए । जनकपुरमा अनुबन्धित इफ्तिखार अहमद र हुनैन शाह पनि नेपाल आएर टोलीसँग बसे, तर पाकिस्तान क्रिकेट बोर्डबाट खेल्ने अनुमति नपाएपछि मैदानमा उत्रिन सकेनन् । उनीहरू फर्किएपछि जनकपुरले बंगलादेशका सैफ हसन र परवेज हुसेन इमोनलाई ल्यायो । दुवै खेलाडी नेपाल आएर जनकपुरको टोलीमा जोडिइसकेका छन् ।
चितवन राइनोजमा पनि पाकिस्तानी खेलाडीको अनुमति समस्याले टोली परिवर्तन भयो । उसामा मिर, हसन अली र मोहम्मद नवाज उपलब्ध नभएपछि चितवनले इंग्ल्यान्डका टम टेलर र ड्यान माउजलीलाई ल्याएको थियो । उनीहरू विमानस्थलबाट आएको केही समयमै विराटनगरविरुद्धको खेल खेल्न पुगेका थिए ।
अर्कातिर ठूला नाम आउने क्रम अझै सकिएको छैन । डेभिड वार्नर काठमाडौं गोर्खाजमा जोडिएर खेलिसकेका छन्, आज उनी फेरि मैदान उत्रिँदैछन् । दक्षिण अफ्रिकाका डेभिड मिलर पनि आइसकेका छन् । कर्णाली याक्समा अनुबन्धित मिलर सम्भवतः शुक्रबारदेखि मैदानमा देखिनेछन् ।
लुम्बिनी लायन्सका नामिबियन बलर रुबेन ट्रम्पलम्यान भने नेपाल ओर्लिएको केही घण्टामै मैदान पसेका थिए । पोखराविरुद्ध तीन विकेट लिएर उनले आगमनलाई तत्काल प्रभावशाली बनाए ।
रेडबुलको प्रस्तुति, शिलापत्र एनपीएल अफ द पिच







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।