सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

क्रिकेटमा रोमाञ्चकता थप्ने बलभित्र लुकेको रोचक कथा [भिडियो]

क्रिकेटमा रोमाञ्चकता थप्ने बलभित्र लुकेको रोचक कथा [भिडियो]

नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चकता झनै बढ्दै छ । विश्वका विभिन्न देशका स्टार खेलाडी एनपीएल खेल्न कीर्तिपुरमा भेला भएका छन् । खेलाडीले हान्ने चौका, छक्कादेखि बलिङ र फिल्डिङको पनि उत्तिकै चर्चा भइरहेको छ । दर्शकहरू मैदानमै गएर क्रिकेट हेर्नेदेखि टीभीको स्क्रिनअघि बसेर खेलको मज्जा लिइरहेका छन् ।

तर, के तपाईंहरूलाई थाहा छ, क्रिकेटमा यही रोमाञ्चकता दिने बल भने एकै प्रकारका किन हुँदैनन् ? क्रिकेटमा आखिर किन रातो र सेतो बल खेल्न थालियो होला ? अनि यसबाहेक अर्को रङको बल पनि हुन्छ । त्यो अर्को कुन बल होला ?

बलरले फ्याँकेको तीव्र गतिको वा स्विङ बलमा कसरी ब्याटरले सहजै चौका र छक्का हान्छन् ? हो, क्रिकेटको रोमाञ्चकता नै यही बल र ब्याटको जादुभित्र लुकेको हुन्छ । तपाईंहरूले पाकिस्तानी क्रिकेटर शोएब अख्तरको नाम सुन्नुभएको होला । उनी संसारकै सबैभन्दा तीव्र गतिका बलर हुन् । उनले क्रिकेटको यो सानो बललाई १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा फाल्थे ।

अस्ट्रेलियाका शान टेट, ब्रेट ली, जेफ थोम्सन र मिचेल स्टार्कजस्ता खेलाडीले क्रिकेटको बललाई १६० किलोमिटर प्रतिघण्टाको गतिमा फालेर रेकर्ड बनाएका छन् । यसरी फालिएको बललाई ब्याट्सम्यानले पनि केही सेकेन्डमै बाउन्ड्री कटाइदिन्छन् र चौका–छक्का हानेर रन बटुल्छन् । अनि कुनै बेलाचाहिँ यसरी आएको बलमा ब्याटरले राम्रोसँग ब्याट उठाउन नपाउँदै विकेट खस्न पुग्छ । त्यसैले यही सानो बलमै सिङ्गो क्रिकेटको रणनीति र रोमाञ्चकता लुकेको हुन्छ । बलको स्पिड, बलको दिशा र पिचको कन्डिसनले टिमको स्कोर र नतिजालाई बदल्छ ।

क्रिकेटको जननी बेलायतलाई मानिन्छ । नेपालको कुरा गर्ने हो भने क्रिकेटको इतिहास धेरै पुरानो छैन । तर, जतिबेला क्रिकेटको सुरुवात भयो, त्यसबेला आजको जस्तो प्रविधि र संसाधन थिएन । क्रिकेट खेल त्यसबेला विल्कुलै फरक थियो । अहिलेजस्तो क्रिकेट बल र खेलका धेरै फर्म्याट थिएनन् र बल पनि उस्तैउस्तै खालका हुन्थे । कतै छालाको प्रयोग भएका बल हुन्थे भने कतै ऊन वा अरु वस्तुले बनेका बल थिए, जसका कारण क्रिकेट बलको आकार, तौल र डिजाइनजस्ता कुनै कुरा निश्चित थिएनन् । क्रिकेट खेल आजको जस्तो लोकप्रिय र प्रतिस्पर्धात्मक खेल थिएन । जब क्रिकेट लोकप्रिय खेल बन्दै गयो, तब बलियो, निश्चित आकारको र टिकाउ बल हुनुपर्ने बहस सुरु भयो ।

यहीँबाट सुरु हुन्छ क्रिकेटको आधुनिक बलको कथा । क्रिकेटमा रातो, सेतो र गुलाबी अर्थात् पिंक बल खेलिन्छ । बलका रङ किन फरक बनाइए भन्ने बुझ्नुअघि बल कसरी बनाइन्छ, त्यो बुझौँ ।

एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट बल बनाउन निकै मिहिनेत लाग्छ । किनकि यो मेसिनले मात्रै नभएर दक्ष कालिगढले पूर्णता दिन्छन् । क्रिकेटको बल बनाउन गाईवस्तुको उच्च गुणस्तरको छाला प्रयोग हुन्छ । बललाई मजबुत बनाउन छालालाई विशेष रसायन प्रयोग गरेर ट्यानिङ गरिन्छ । टेस्ट म्याचका लागि प्रयोग हुने बलमा प्राकृतिक छालाको रङ कायम राख्दै बाहिर रातो रङ लगाइन्छ भने सेतो र गुलाबी बलमा विशेष रङको तह थपिन्छ ।

प्रिमियम गुणस्तरका बल अर्धवृत्ताकार छालाका टुक्रालाई जोडेर बनाइन्छ । यी टुक्राहरूलाई अर्धगोलाकार आकारमा काटेर भित्र कडा कोर राखिन्छ र बलियो धागोले कसिलो गरी सिलाइन्छ । बलको भित्री भागमा मुख्यतया कर्कको सानो बल हुन्छ । त्यसलाई सुतीको धागोले कसिलो बनाएर बेरिन्छ । यसले बललाई लचिलो र उफ्रिन सक्ने बनाउँछ ।

क्रिकेटको बलको बीच भागमा धागोले सिलाइएको ६ वटा तह र त्यसको बीचको उठेको भाग देख्नुभएको छ ? क्रिकेट बलको सबैभन्दा महत्त्वपूर्ण भाग यही हो, जसलाई ‘सिम’ भनिन्छ । यो भागले नै बलरलाई बल स्विङ गराउन मद्दत गर्छ । यही आधारभूत निर्माण अहिलेको क्रिकेट बलको पहिचान पनि हो । यो सिम बललाई जोड्न मात्रै बनाइएको हुँदैन । राम्रोसँग बनेको यही सिमले नै बलको हावामा मुभमेन्ट र पिचबाट आउने रियाक्सनलाई प्रभावित गर्छ । अर्थात्, जब बलरले ब्याटरतिर बल फाल्छन्, तब त्यसले दिने गति र दिशा निर्धारित हुन्छ । यसलाई आउट स्विङ वा इन स्विङ भनिन्छ । क्रिकेटको विकाससँगै बलिङ पनि परिवर्तन हुँदै गएको पाइन्छ ।

नयाँ बल चम्किलो हुन्छ र त्यसको सिम सफा हुन्छ, जसको प्रयोग बलरहरूले बल स्विङ गराउनका लागि गर्छन् । तर, बल पुरानो हुँदै जाँदा त्यसको सतह बिग्रिँदै जान थाल्छ । बलर र फिल्डरले बलको एउटा हिस्सालाई चम्किलो बनाइराख्ने कोसिस गर्छन् । तपाईंहरूले अक्सर बलरहरूले बल जर्सीमा रगडिरहेको वा रुमालले पुछिरहेको देख्नुभएको होला । किनकि बलको दुई सतहमा अन्तर भएमा हावामा त्यसले एयर डाइनामिक्सलाई प्रभाव पार्छ र हावामा मोड्न सघाउँछ । यहीँबाट सुरु भयो क्रिकेटको सबैभन्दा चर्चित ‘रिभर्स स्विङ’, जहाँ पुरानो बलले पनि ब्याट्सम्यानका लागि समस्या सिर्जना गर्न सक्छ ।

यति भनेपछि अब क्रिकेटका बलका रङ किन फरक बनाइयो भन्नेबारे चर्चा गरौँ । जतिबेला क्रिकेट सुरु भएको थियो, त्यसबेला सबैजसो बल राता नै हुन्थे । समयसँगै क्रिकेटलाई अझै मनोरञ्जनात्मक, व्यावसायिक र टेलिभिजनमैत्री बनाउने आवश्यकता महसुस भयो । क्रिकेटमा पनि सीमित ओभरका नयाँ फर्म्याटहरू विकास हुन थाले । क्रिकेट खेल दिनमा मात्रै नभएर रातमा फ्लडलाइटमा समेत खेल्न थालियो । फ्लडलाइटमा खेल्दा बलको रङले पनि खेललाई प्रभाव पार्न थाल्यो ।

रातो रङको बल रातको अँध्यारो, फ्लडलाइट र कपडामा राम्रोसँग देख्न गाह्रो हुन्छ । यस कारण क्रिकेटमा रातो बलको सट्टा सेतो बलको प्रयोग बढ्न थाल्यो । किनकि सेतो बल फ्लडलाइटमुनि रातो बलभन्दा बढी सफा देखिन्थ्यो । यहीँबाट क्रिकेटमा दुई अलग–अलग बलको प्रयोग सुरु भयो ।

रातो बल टेस्ट क्रिकेट अर्थात् पाँचदिने खेलको पहिचान बन्यो । दिनको उज्यालोमा खेलिने टेस्ट खेलमा रातो बलको चमक र बलको सिलाइको उठेको भागले लामो समयसम्म प्रभाव पार्छ । यसको निर्माणमा प्रयोग हुने प्राकृतिक छाला र चिल्लो मैनका कारण यो बलर र ब्याटर दुवैका लागि विशेष हुन्छ । खेलका सुरुवाती ओभरहरूमा नयाँ रातो बलको सिम र यसको चिल्लो भागले हावामा उत्कृष्ट स्विङ दिन्छ ।

खेल पुरानो हुँदै जाँदा ४०–५० ओभरपछि बलको एकातर्फको भाग खस्रो र अर्को भाग चिल्लो राखेर बलरहरूले आश्चर्यजनक रूपमा उल्टो दिशातर्फ बल घुमाउन सक्छन्, जसलाई क्रिकेटको भाषामा रिभर्स स्विङ भनिन्छ, जसले तीव्र गतिका बलरहरूलाई फाइदा पुर्‍याउँछ । बल पुरानो हुँदै गएपछि रातो बलमा खस्रोपन आउँछ र सिम प्रस्ट हुन्छ, जसले स्पिनरहरूलाई थप टर्न र बाउन्स निकाल्न सहज बनाउँछ ।

रातो बलको चमक पहिलो २०–२५ ओभरसम्म ब्याटरका लागि खतरनाक सावित हुन्छ । किनकि बल कुन दिशामा मोडिन्छ भनेर छुट्याउन कठिन हुन्छ । तर, बल पुरानो भएपछि र चमक कम भएपछि ब्याटरहरूका लागि रन बनाउन र सट खेल्न निकै सजिलो हुन्छ ।

रातो बल टेस्ट क्रिकेटको पहिचान बनेपछि सेतो बल भने सीमित ओभरको क्रिकेटमा प्रयोग हुन थाल्यो । सन् १९७७ मा विश्व क्रिकेटमा रंगशालामा क्रान्ति नै आयो । खासगरी क्यारी प्याकरको वर्ल्ड सिरिज क्रिकेटसँगै सेतो बलको जन्म भयो । डे–नाइट खेलहरू र फ्लडलाइटको उज्यालोमा खेल्नका लागि रातो बल स्पष्ट नदेखिएपछि एकदिवसीय (ओडीआई) र टी–२० क्रिकेटमा सेतो बल अनिवार्य गरियो । तर, सेतो बल पनि पूर्ण समस्यामुक्त थिएन ।

तपाईंहरूले पनि क्रिकेट खेलको बीचमै अम्पायरहरूले बल परिवर्तन गरेको देख्नुभएको होला । सेतो बल हेर्नमा सानदार भए पनि रातो बलजस्तो लामो समय चमकदार हुँदैन । खेल अघि बढ्दै जाँदा यसको सतह बदलिन्थ्यो । यसै कारण सेतो बलको बलिङका पनि अलगअलग रणनीति बन्न थाले । अर्थात्, बलको रङ बदलिँदा खेलको रफ्तारसमेत बदलिन थाल्यो । बलरहरूले अलग परिस्थितिमा स्विङ, सिम र पेसको प्रयोग गर्न थाले र ब्याट्सम्यानले एउटै खेलमा फरक–फरक तरिकाले फालिएका बलको सामना गर्नुपर्ने अवस्था बन्यो ।

सेतो बल फ्लडलाइटमा वा दिनको उज्यालोमा पनि ब्याटरको आँखामा स्पष्ट देखिन्छ । यसको कठोरता लामो समयसम्म कायम रहने भएकाले ब्याटमा लाग्नेबित्तिकै बलको गतिलाई प्रयोग गरेर सजिलै बाउन्ड्रीतिर पठाउन सकिन्छ । सेतो बललाई विशेष रसायन र बाक्लो लेपन लगाएर सिलाइने भएकाले यो छिटो खस्रो हुँदैन । तसर्थ, म्याचको अन्त्यसम्म पनि यसले रिभर्स स्विङ दिँदैन, जसले गर्दा डेथ ओभरमा ब्याटरहरूले छक्का–चौकाको वर्षा गर्न सक्छन् ।

नयाँ सेतो बलले पहिलो ५–१० ओभरसम्म मात्र स्विङ गर्न सक्छ । त्यसपछि यो चम्किलो र चिल्लो सतहका कारण बलरको हातबाट चिप्लन थाल्छ र ग्रिप बनाउन गाह्रो हुन्छ । खेलको बीचतिर सेतो बलमा स्विङ वा ठूलो टर्न नहुँदा स्पिनर र पेस बलर दुवैले ब्याटरलाई रोक्न कडा संघर्ष गर्नुपर्छ ।

यसपछि क्रिकेटमा अर्को रङको बल अस्तित्वमा आयो । त्यो हो, गुलाबी अर्थात् पिंक बल । सुरुमा दिनमा खेलिने टेस्ट क्रिकेट अब डे–नाइट खेलाउन थालियो । तर, समस्या पुरानै थियो, त्यो भनेको रातो बल रातको समयमा राम्रोसँग देखिँदैनथ्यो र सेतो बल लामो टेस्ट म्याचका लागि उपयुक्त थिएन । हो, यही समस्या हल गर्न क्रिकेटमा भित्रिएको हो, पिंक बल ।

रातो बलको पारम्परिक सुन्दरता र सेतो बलको चमकलाई मध्यनजर गर्दै यो गुलाबी बलको विकास गरियो । फ्लडलाइटमा रातो बलभन्दा राम्रो देखिने र रातो बलजस्तै लामो समय टिक्ने विशेषतासहित यसलाई टेस्ट क्रिकेटको डे–नाइट फर्म्याटमा प्रयोग गर्न थालियो ।

डे–नाइट टेस्टमा जब खेल दिउँसोबाट साँझतर्फ प्रवेश गर्छ, तब गुलाबी बलको चमक र प्रकाशको परावर्तनका कारण खतरनाक बन्छ । गुलाबी बलको बाहिरी भागमा बाक्लो कोटिङ हुने भएकाले यसको सिम लामो समयसम्म कायम रहन्छ, जसले फास्ट बलर र स्पिनर दुवैलाई मद्दत गर्छ ।

साँझको समयमा ब्याटरहरूलाई गुलाबी बल देख्न र ब्याटमा सही कन्ट्याक्ट गर्न सबैभन्दा चुनौतीपूर्ण हुन्छ । किनकि दिनको उज्यालो र फ्लडलाइट बाल्न सुरु गरेको ‘ट्वाइलाइट पिरियड’मा यस्तो चुनौती देखापर्छ ।

अब तपाईंहरूले रेड बल, ह्वाइट बल र पिंक बलबारे त थाहा पाउनुभयो । तर, क्रिकेटमा अर्को पनि रोचक कुरा छ । क्रिकेटको जन्मदाता इंग्ल्यान्ड हो । तर, अब अस्ट्रेलिया, भारत, वेस्ट इन्डिज, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डजस्ता देश क्रिकेटका सुपर पावर बनिसकेका छन् । यसबाहेक एसोसिएट राष्ट्रसमेत क्रिकेटको विकासमा धेरै अघि बढिसकेका छन् ।

तर के तपाईंहरूलाई थाहा छ, अलग-अलग देशमा टेस्ट क्रिकेट अलग बलले खेलिन्छ ? सबैभन्दा पहिले कुरा गरौँ, कोकाबुरा बलबारे । यो बल अस्ट्रेलियामा बन्छ, जसको प्रयोग बढीजसो टेस्ट खेल्ने देशमा गरिन्छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, बंगलादेश र जिम्बाब्वेजस्ता देशमा टेस्ट क्रिकेटको सिम केही चेप्टो हुने कोकाबुरा बलबाटै खेलिन्छ । तर, भारतमा घरेलु क्रिकेट र भारतमा हुने टेस्टमा एसजी क्रिकेट बल प्रयोग हुन्छ । इंग्ल्यान्ड, आयरल्यान्ड र वेस्ट इन्डिजमा ड्युक बलको प्रयोग गरिन्छ ।

ड्युक र एसजी दुवै बल हातले सिलाइने भएकाले यी दुवै बलले लामो समयसम्म बलिङमा बलरलाई साथ दिन्छन् । यसको विपरीत कोकाबुरा बल मेसिनले सिलाइन्छ । कोकाबुराको नयाँ बलले सुरुमा विकेट लिन सजिलो हुन्छ । तर, केही समयमै यसको सिम थिचिन्छ र ब्याटरलाई रन बनाउन सजिलो हुन्छ ।

कोकाबुरा बल २५ ओभरभन्दा पछिको खेलमा बलरका लागि सहयोगी हुँदैन । पातलो सिमका कारण फिङ्गर स्पिनका लागि बल ग्रिप गर्न कठिन हुन्छ । सन् २०२० पछि कोकाबुराको बलमा केही बदलाव गरिएको छ ।

यस्तै, एसजीको बल हातले सिलाइन्छ । यो बलको सीम बढी अग्लो र सिधा हुन्छ । यसले पूरै दिनको खेलमा पनि बलरलाई सहयोग गर्छ र करिब ९० ओभरसम्म यसलाई राम्रोसँग खेल्न सकिन्छ । सुरुवातमा बल स्विङ हुँदैन । तर, जब एकातर्फबाट बललाई चम्काउन सुरु गरिन्छ, तब यसले हावामा दिशा परिवर्तन गर्न थाल्छ । जब फास्ट बलरले बल फाल्छन्, तब यसको अग्लो सिम त्यस्तै रहन्छ । जसबाट सिम तथा स्विङमा राम्रो नियन्त्रण रहन्छ । स्पिनरले पनि यो बल राम्रोसँग स्पिन गर्न सक्छन् । यसबाट बढी टर्न र बाउन्स गराउन सजिलो हुन्छ । तर, एसजीको बलको बाहिरी चम्किलोपन भने छिट्टै जान्छ, जसका कारण केही समयपछि पारम्परिक स्विङ कमजोर हुन्छ । तर, यसले रिभर्स स्विङ गर्न भने सजिलो बनाउँछ ।

क्रिकेटको अर्को चर्चित ड्युक बल पनि हातले सिलाइन्छ । यसबाट बलको आकार लामो समयसम्म बदलिँदैन । ८० ओभरसम्म बलको सीम रहिरहन्छ । जब यसको सीम खराब हुन्छ, तब अर्को नयाँ बल ल्याइन्छ । यसैकारण राम्रो स्विङ बलर ड्युक बलमा घातक सावित हुन्छन् ।

यी तीनवटै रङका बलको तौल १५५.९ ग्रामदेखि १६३ ग्रामसम्म हुन्छ । महिला क्रिकेटमा भने बलको तौल १४० ग्रामदेखि १५१ ग्रामको हुन्छ ।

अब तपाईं सोच्नुहोस् कि क्रिकेटको बल केवल खेलको साधन मात्रै होइन, यसभित्र इन्जिनियरिङ, शिल्प र क्रिकेटको पूरै रणनीति लुकेको हुन्छ । त्यसैले निर्णायक ओभरमा कुनै बलरले बल स्विङ गर्छ वा ब्याट्सम्यानले त्यसलाई बाउन्ड्री कटाउँछ वा आउट हुन्छ भने त्यो सामान्य खेलका दृष्टिले भन्दा खेल रणनीतिको हिस्साका रूपमा बुझ्नुपर्छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि