सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

चीनबारेको एक बोलीले विवादमा एम्बाप्पे : प्रायोजकले हात झिक्न थालेपछि मागे माफी [पाँच प्रश्नोत्तर]

चीनबारेको एक बोलीले विवादमा एम्बाप्पे : प्रायोजकले हात झिक्न थालेपछि मागे माफी [पाँच प्रश्नोत्तर]

चर्चित फ्रान्सेली खेलाडी तथा अहिलेका रियल म्याड्रिडका स्ट्राइकर केलियन एम्बाप्पेको एक बोलीले चीनमा हलचल मच्चिएको छ । उनको आलोचना चीनमा सामाजिक सञ्जालमा मात्र नभएर व्यावसायिक वृत्तमा समेत पुगेको छ । तीन भाषामा एम्बाप्पेले माफी मागिसकेका छन् । कुरोको चुरो के हो त ? पाँच प्रश्नोत्तरमा बुझौँ ।

१. कहाँ के बोलेका थिए ?

एम्बाप्पे खासमा ‘द ब्रिज’ नामक एक पोडकास्टमा गफिँदै थिए । उनी मिम अर्थात् इन्टरनेट तथा सामाजिक सञ्जालमा प्रयोग गरिने हास्य कन्टेन्टबारे गफिँदै थिए । त्यसै क्रममा आफूलाई रोचक लागेको कुरा गर्दा एम्बाप्पेले प्रयोग गरेको शब्द ‘चिनियाँ तानाशाह’का कारण उनी विवादमा परिहाले ।

एम्बाप्पेले भनेका थिए, ‘मेरोबारेमा एक भिडियो बनेको थियो । मलाई लाग्छ त्यो भिडियो तानाशाहको थियो । त्यसले मलाई धेरै हँसायो । मैले मेरा साथीहरूसँग त्यसलाई सधैँ प्रयोग गर्छु ।’ तर, यो छ महिनाअगाडिको क्लिप हो । क्लिप पनि पर्दापछाडिको अर्थात् बिहाइन्ड द सिन क्लिप हो । कुन नियतले सार्वजनिक भयो र के कारणले भन्ने चाहिँ खुलेको छैन ।

२. किन बिच्किए चिनियाँहरू ?

एम्बाप्पेले ‘चिनियाँ तानाशाह’ मात्र भनेका थिए । तर, सामाजिक सञ्जालमा उनले कसलाई भनेका थिए भन्ने अनुमान भइहाल्यो । माओ जेदुङको नाम त उनले लिएका थिएनन् । तर, माओको अनुहारमा उनका विभिन्न मिम तस्वीर तथा भिडियो बनेका थिए ।

अरु चिनियाँसँग त्यस्तो बनेको थिएन । त्यही भएर धेरैले कुरा माओमा लक्षित भएको भन्ने ठाने । माओलाई ‘नयाँ चीनका निर्माता’ मान्ने चिनियाँहरूले सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि विभिन्न डोमेनमा आपत्ति जनाए ।

आफूले मानेको राष्ट्रका विभूतिलाई कुनै विदेशी खेलाडीले ‘तानाशाह’ भनेपछि उनीहरू बिच्किएका हुन् । तर, अहिले सामाजिक सञ्जालमा पनि माओ तानाशाही नै थिए भन्ने पक्षका तर्क पनि आइरहेका चाहिँ छन् ।

३. बिच्किएको व्यावसायिक प्रतिक्रिया कस्तो आयो ?

विश्वको अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र चीन हो । पर्चेजिङ पावर प्यारिटी (पीपीपी) मोडेलमा त चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र छ। त्यसको शक्ति एम्बाप्पे प्रकरणमा पनि देखियो ।

तीन चिनियाँ कम्पनीले एम्बाप्पेसँगको व्यावसायिक साझेदारी तोडेको सार्वजनिक गरेका थिए । विश्व मिडियाका अनुसार त्यसरी तोड्नेमा दोङपेङ, मेङ्निउ र मिल्कग्राउन्ड छन् ।

उनीहरूले मंगलबार वक्तव्य दिएर साझेदारी तोड्ने जनाएका हुन् । चिनियाँ मिडिया सीसीटीभीले एम्बाप्पेका सबै सामग्री डिलिट गर्ने बताएको थियो ।

४. एम्बाप्पे, रियल म्याड्रिड र पोडकास्टरले कहिले माफी मागे ?

घटनाले चीनमा उग्र आलोचना भएपछि एम्बाप्पेले तुरुन्त माफी मागिहाले । उनले फ्रेन्च, चिनियाँ र अंग्रेजी भाषामा माफी मागेको पत्र सार्वजनिक गरे । त्यहाँ उनले आफ्नो मूल्याङ्कन कमजोर भएको भन्दै विश्वभरिका चिनियाँको मन दुखाउने आफ्नो नियत नभएको बताएका छन् ।

उनले चीनको इतिहास र चिनियाँ नागरिकलाई सम्मान गर्ने बताएका छन् । उनले मंगलबार माफी मागेका हुन् ।

मंगलबार नै स्पेनी क्लब ला लिगाका सभापति खाबियर तेबासले पनि सार्वजनिक रूपमा माफी मागेका छन् । उनले माफी मागेर सबै क्लबका खेलाडीलाई भिन्न संस्कृति र इतिहासको सम्मानबारे आफूले सचेत गराउने बताएका छन् । त्यसका लागि आफूले पूर्ण जिम्मेवारी लिने पनि तेबासले बताएका छन् ।

एम्बाप्पे, ला लिगा मात्र होइन, ‘द ब्रिज’ नामक पोडकास्टले पनि माफी मागेको छ । बुधबार माफी मागेर उसले चिनियाँ नागरिक र एम्बाप्पेसँग साझेदारी गरेका संस्थाहरूलाई पनि पर्न गएको असरका लागि माफी मागेको छ ।

५. के छ चिनियाँ प्रतिक्रिया ?

चीनले माफी आएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कू चियाकुनले बुधबार पत्रकारहरूको प्रश्नमा बोल्दै चीनले माफीलाई ‘गम्भीरतापूर्वक’ लिएको बताएका छन् ।

तर, यस्तो घटना यसअघि पनि पटक–पटक विभिन्न मुद्दामा हुँदै आएको छ । त्यसको पछिल्लो उदाहरण हुन् अमेरिकी नायक तथा रेस्लिङ खेलाडी जोन सेना । सन् २०२१ मा उनले ताइवानको एक टेलिभिजनसँगको अन्तर्वार्तामा ताइवानलाई ‘देश’ भनेका थिए । तर, चीनमा व्यापक विरोध भएपछि उनले त्यसमा माफी मागेका थिए ।

जोन सेनाभन्दा अगाडि पनि विभिन्न घटनाक्रममा विभिन्न सेलिब्रेटीले चीनसँग माफी मागेको देखिन्छ । खासगरी एक चीन नीति तथा चिनियाँ राजनीतिक प्रणाली र नेतृत्वको आलोचनात्मक पक्षमा आउने विरोधप्रति चिनियाँ पक्ष संवेदनशील देखिँदै आएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि