सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

राजनीति

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

अन्ताल्या (टर्किए), २७ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक समस्यामा पर्ने गरेको उल्लेख गर्दै मन्त्री खनालले सुरक्षित र वैधानिक वैदेशिक रोजगारीका लागि टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने बताउनुभयो ।

समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न, व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण र ठगी नियन्त्रण गर्न तथा घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभएको थियो । उहाँले अलपत्र श्रमिकको उद्धारका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्न पनि आग्रह गर्नुभएको थियो ।

मन्त्री खनाल कोप–३१ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा हुनुहुन्छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि