सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

अन्तर्राष्ट्रिय

ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) सम्बन्धी बैठक र एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।

एपेक सम्मेलनमा व्यापार, लगानी, क्षेत्रीय आर्थिक एकीकरण, ऊर्जा सुरक्षा र डिजिटल अर्थतन्त्रका विषयमा जापानको धारणा प्रस्तुत गरिने ओजाकीले बताउनुभएको छ । सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने सम्भावना रहे पनि औपचारिक द्विपक्षीय बैठक हुने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ ।

गत महिना ताकाइचीले चीनलाई महत्त्वपूर्ण छिमेकी बताउँदै स्थिर र सकारात्मक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसअघि ताइवानसम्बन्धी उहाँको अभिव्यक्तिपछि चीनले जापान भ्रमणबारे आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको थियो ।

चीन भ्रमणअघि ताकाइची फिलिपिन्सको राजधानी मनिलामा हुने आसियान बैठकमा सहभागी हुनुहुनेछ । सोही अवसरमा जापान, अमेरिका, भारत र अस्ट्रेलिया सम्मिलित क्वाड बैठक पनि आयोजना हुने ओजाकीले जानकारी दिनुभएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि