सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

आर्थिक/बजार

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पोखरा, २५ कात्तिकः आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

उक्त अवधिमा लक्ष्यभन्दा बढी रु एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो ।

पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताउनुभयो । यस अवधिमा आयकरतर्फ रु ७९ करोड ४४ लाख ८३ हजार सङ्कलनको लक्ष्य राखिएकोमा रु एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उहाँले जानकारी दिनुभयो ।

घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताउनुभयो ।

रु एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा रु एक करोड ३१ लाख ३८ हजार (७२ प्रतिशत) जम्मा भएको छ ।

त्यस्तै ब्याजकरतर्फ रु नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि रु चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उहाँले जानकारी दिनुभयो ।

मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । रु ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो ।

अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

रु छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् रु आठ करोड ८३ लाख २२ हजार संकलन भएको उहाँले बताउनुभयो । अन्य करमा रु ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा रु दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ ।

नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताउनुभयो ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि