सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा

भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा
Placeholder avatar

काठमाडौँ, १७ कात्तिकः नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुग्नुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउनुभएको हो ।

राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो । उहाँ सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको हो । राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यसयता उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ ।

पछिल्लो पटक दलेलाले सन् २०२२ देखि सन् २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा कार्य गर्नुभएको थियो । राजदूत दलेलाले नयाँ दिल्लीमा पनि महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभएको थियो । उहाँले सन् २००९ देखि सन् २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दै भारतका दक्षिण एसियाली छिमेकी मुलुकहरू, पूर्वी एसिया तथा हिन्द प्रशान्त क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको सम्बन्ध तथा सहकार्यसम्बन्धी विषय हेर्नुभएको थियो ।

राजदूत दलेलाले संयुक्त राज्य अमेरिकामा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ । नेपालका लागि भारतको राजदूत नियुक्त हुनुअघि उहाँले भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हाल्नुभएको थियो । उक्त जिम्मेवारीमा उहाँले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्नुभएको थियो ।

यस अघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि