सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
Placeholder avatar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गर्नुभएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ ।

एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनुहुनेछ । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बन्नुभएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उहाँले बिहीबार राति नै राजीनामा दिनुभएको थियो ।

मिलर ट्रम्पका निकट र विश्वासिला सहयोगी हुनुहुन्छ । उहाँले ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिअनुरूप कडा आप्रवासन नीतिको वकालत गर्दै आउनुभएको छ । नीतिसम्बन्धी उपप्रमुख र आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला कार्यक्रमका प्रमुख योजनाकार हुनुहुन्थ्यो ।

आप्रवासन अधिकारीहरूले गत जनवरीमा मिनियापोलिसमा दुई प्रदर्शनकारीको गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो । उहाँले ती अधिकारीहरूको बचाउ गर्नुभएको थियो । उक्त घटनापछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।

डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले मिलरको नियुक्तिको आलोचना गर्दै उहाँ प्रशासनका कठोर नीतिका प्रमुख योजनाकार भएको टिप्पणी गर्नुभएको छ । उहाँले डेमोक्रेटिक पार्टीले मिलरका कदमको हरेक तहमा विरोध गर्ने बताउनुभएको छ ।

मिलरको नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगीका रूपमा प्रशंसा गर्नुभयो ।

यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै उहाँ अब आफ्नो राजनीतिक अभियानमा संलग्न हुने बताउनुभएको थियो । वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला हुनुहुन्थ्यो । उहाँले ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको कलह र अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वाइल्सले सामाजिक सञ्जाल एक्समा ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिनुभएको थियो ।

यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ का लागि दिनुभएको अन्तर्वार्तामा प्रशासनमा थप केही कर्मचारी परिवर्तन गर्न सक्ने सङ्केत गर्नुभएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि