सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ । हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ ।

रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा हुनुहुन्छ । उहाँले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोज्नुभएको छ । विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा हुनुहुन्छ । तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ ।

डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उहाँको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ । उहाँले दौडमा रुचि नरहेको बताउनुभए पनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँको तुलना पूर्वराष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ ।

पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार हुनुहुन्छ । यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ । न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ ।

सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पु¥याएको ‘मागा’ गठबन्धन मध्यावधिमा कमजोर बनेपछि रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार थप अनिश्चित भएको छ । निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि