सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ। प्रहरीले १०० एमएलका १२९ बोतल कोरेक्ससहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४/३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार उक्त लागुऔषध बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको कमान्डमा खटिएको चार सदस्यीय टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो।
प्रहरीलाई देखेपछि चालकले मोटरसाइकल खोलाको किनारमा छाडेर भारततर्फ फरार भएका थिए। त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाइएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला परेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए।
बरामद मोटरसाइकल र लागुऔषधको स्रोत तथा कारोबारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।