सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताउनुभएको छ । उहाँले यसै साता अबुधाबीमा हुने वार्ताबाट थप प्रगति हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

जी–७ का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि आइतबार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले युद्ध अन्त्यका लागि सुरक्षा प्रत्याभूतिको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा यो विषय पटकपटक उठ्दै आएको उहाँको भनाइ थियो ।

युद्धपछि युक्रेनसँगै समग्र युरोपेली महादेशको सुरक्षा संरचना कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्केत गर्नुभएको संरचनाबारे केही प्रगति भएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत बिहीबार युक्रेन मात्र नभई सम्पूर्ण युरोपलाई समेट्ने रुससँगको बृहत् सम्झौताको सम्भावना रहेको बताउनुभएको थियो । यद्यपि, रुबियोले अहिलेसम्म कुनै विषय अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पार्नुभयो ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा मङ्गलबार र बुधबार अबुधाबीमा वार्ता तय भएको छ । उक्त वार्तामा अमेरिकाका तर्फबाट विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुसनर सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि