सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

लुलाको जितलाई विश्व नेताहरूले भने ‘ऐतिहासिक’

लुलाको जितलाई विश्व नेताहरूले भने ‘ऐतिहासिक’
Placeholder avatar

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पुनःनिर्वाचनमा जित हासिल गरेपछि विश्वका विभिन्न देशका नेताहरूले उहाँलाई बधाई दिएका छन् ।

लुलाका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले हार स्वीकार गर्न अस्वीकार गर्नुभए पनि वामपन्थी र दक्षिणपन्थी दुवै धारका नेताहरूले लुलाको जितलाई स्वागत गरेका छन् । लुलाले ५१ दशमलव आठ प्रतिशत मत पाउँदा बोल्सोनारोले ४८ दशमलव दुई प्रतिशत मत प्राप्त गर्नुभयो ।

मेक्सिकोकी वामपन्थी राष्ट्रपति क्लाउडिया शिनबामले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लुलाको जितप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले लख्नुभयो, “लोकतन्त्र अमर रहोस्, ब्राजिलका जनताको जित भएको छ ।”

क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले लुलालाई उहाँको ‘ऐतिहासिक जित’का लागि बधाई दिँदै यसले शान्ति, सार्वभौमसत्ता र सामाजिक न्यायको मार्गलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

अर्जेन्टिनाकी पूर्वराष्ट्रपति क्रिस्टिना किर्चनरले लुलालाई आफ्ना देशवासीको समर्थन प्राप्त गर्ने भावना र चेतना जगाउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँ हाल भ्रष्टाचारको आरोपमा नजरबन्दमा हुनुहुन्छ ।

उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सीले लुलासँग कुराकानी गरेको जानकारी दिँदै उहाँलाई चुनावी जित र निर्वाचन प्रक्रियामार्फत अभिव्यक्त लोकतान्त्रिक उत्सवका लागि बधाई दिनुभयो ।

‘लोकतान्त्रिक दिन’

लुलाको जितले अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुजस्ता देशमा देखिएको दक्षिणपन्थी राजनीतिक उभारबीच ब्राजिलमा वामपन्थी नेतृत्वलाई निरन्तरता दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको रूढिवादी लहरका बीच लुलाको जितलाई महत्वपूर्ण मानिएको छ ।

पेरुकी दक्षिणपन्थी नेतृ केइको फुजिमोरीले ब्राजिलको निर्वाचनलाई ‘लोकतान्त्रिक दिन’ भन्दै लुलालाई बधाई दिनुभयो ।

उहाँले एक्समा लेख्नुभयो, “म हाम्रो रणनीतिक गठबन्धन, एकीकरण, सहयोग तथा दुवै देशको साझा सम्पत्ति अमेजन क्षेत्रको दिगो विकासलाई सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याउँछु । यसबाट दुवै देशका जनता लाभान्वित हुनेछन् ।”

बोल्सोनारोका निकट सहयोगी मानिने चिलीका नेता होसे एन्टोनियो कास्तले पनि एक्समा लेख्दै चिली र ब्राजिलको भविष्य उज्ज्वल र साझा रहेको बताउनुभयो ।

इक्वेडरका रूढिवादी राष्ट्रपति ड्यानियल नोबोआले लुलाको चौथो कार्यकालमा उहाँसँग सहकार्य गर्न आह्वान गर्नुभयो । उहाँले एक्समा लेख्नुभयो, “हाम्रो क्षेत्रमा साझा शत्रु र चुनौती छन् । हामीले मिलेर काम गर्दा धेरै कुरा हासिल गर्न सक्छौँ” ।

‘प्रगतिशील पुनरागमन’

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले लुलाको जितलाई लोकतन्त्र र बहुपक्षीयताको जितका रूपमा स्वागत गर्नुभयो । उहाँले ब्राजिलसँग युरोपको साझेदारी थप सुदृढ हुँदै गएको बताउनुभयो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लुलाको जितलाई ‘प्रगतिशील पुनरागमन’को सुरुवातका रूपमा व्याख्या गर्नुभयो । आफ्नै देशमा आगामी निर्वाचनअघि जनमत सर्वेक्षणमा पछाडि रहेका सान्चेजले भन्नुभयो, “ब्राजिलमा जे भएको छ, त्यो स्पेनमा पनि हुनेछ ।”

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ब्राजिलसँगको रणनीतिक साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

ब्राजिल सदस्य रहेको ब्रिक्स समूहका वर्तमान अध्यक्षसमेत रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुलालाई हार्दिक बधाई दिनुभयो । उहाँले भारत र ब्राजिलबीचको बहुआयामिक रणनीतिक साझेदारीलाई थप गहिरो र विस्तार गर्न मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो ।

चीनले पनि लुलालाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले साझा भविष्य भएको चीन–ब्राजिल समुदाय निर्माणलाई अघि बढाउन ब्राजिलसँग सहकार्य गर्न चीन इच्छुक रहेको बताउनुभयो ।

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले लुला ब्राजिलका श्रमिक र लोकतन्त्रको पक्षमा उभिएको उल्लेख गर्दै आगामी चार वर्ष पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि