सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

सरेको सर्‍यै गरेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु

सरेको सर्‍यै गरेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु

कर्णाली प्रदेशमा आगामी १६–२७ मंसिरमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन (दिनगन्ती) सुरु भएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संयुक्त रूपमा काउन्टडाउनको शुभारम्भ गरेका हुन् ।

वीरेन्द्रनगरस्थित अधिकांश खेल सञ्चालन हुने प्रादेशिक रंगाशामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले प्रतियोगितालाई उत्सवका रूपमा ग्रहण गर्न आग्रह गरे । प्रतियोगिता भव्य र सभ्य बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले जनाए ।

मन्त्री पोखरेलले भने, ‘प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा दिनगन्ती सुरु गर्ने विषयमा मुख्यमन्त्री, मन्त्रीज्यूसँग बसेर निर्णय गरेका थियौँ । सोहीबमोजिम कर्णालीवासीलाई १०औँ राष्ट्रिय खेलकुद आएको भान दिलाउन पनि हामीले यो काम गरेका हौँ । यसको प्रमोसन गर्ने कार्यहरू पनि सुभारम्भ भएका छन् । हरेक दिन तयारीसँगै उत्साह पनि बढ्दै जाने अपेक्षा गरेका छौं ।’

संघीय सरकार मुख्य आयोजक रहेको प्रतियोगिताको सह–आयोजकको जिम्मेवारी कर्णाली प्रदेशले पाएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा तयारीलाई तीव्रता दिन काउन्टडाउन सुरु गरिएको राखेपले जनाएको छ । राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगिताका लागि आवश्यक खरिद प्रक्रिया, खेलाडी छनोट र बन्द प्रशिक्षणलगायत अधिकांश तयारीका काम अघि बढिसकेको जानकारी दिए । उनका अनुसार खेलाडी तथा अफिसियलका लागि आवास व्यवस्थापन, प्रचारप्रसारलगायत प्राविधिक काम अन्तिम चरणमा छन् । प्रतियोगिताअन्तर्गत केही खेल भने ८ मंसिरबाटै सुरु हुनेछन् ।

यसपटक प्रतियोगिता सञ्चालन हुने निश्चितता बढ्दै गएको छ । यसअघि नियमित दुई वर्षमा सम्पन्न हुनुपर्ने प्रतियोगिता खेल पूर्वाधारको अभाव, संघीय सरकारको चरम उपेक्षालगायत प्राविधिक कारणले चारपटक सरेको थियो । कर्णालीमा पहिलोपटक हुन लागेको प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । पछिल्लोपटक राखेप अध्यक्ष मन्त्री पोखरेलको अध्यक्षतामा २८ साउन २०८३ मा सम्पन्न १२५ औँ बोर्ड बैठकले पाँचौपटक आगामी १६–२७ मंसिरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

कर्णालीले ३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलोपटक २ देखि ९ मंसिर २०८१ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २३ देखि ३० चैत २०८१ सम्म दोस्रोपटक र ३ देखि १० जेठ २०८२ सम्म तेस्रोपटक मिति तोकियो । ती दुवै मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यसपछि चौथोपटक २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता सम्पन्न हुन सकेन ।

कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आगामी मध्य मंसिरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा भव्य समारोहका बीच प्रतियोगिताको शुभारम्भ हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३२ खेल विधामा झन्डै ६ हजार बढी खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । हमालले साढे ६ हजार खेलाडी र तीन हजार अफिसियल प्रतियोगितामा सहभागी हुने बताए ।

उनका अनुसार प्रतियोगितामा समावेश हुने खेलमध्ये २८ विधाका खेल कर्णालीका सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । बाँकी चार खेल नेपालगञ्जमा सञ्चालन गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल र पाहुनाको आवास व्यवस्थापनका लागि निजीक्षेत्रसँग समन्वय गरिएको पनि उनले बताए ।

धेरै खेल विधा सञ्चालन हुने वीरेन्द्रनगरमा उपलब्ध झण्डै ६ हजार बेडमा बसाइको व्यवस्था गरिनेछ । बाँकी सहभागीका लागि खेल विधा सञ्चालन हुने जिल्लाका होटल तथा सार्वजनिक भवनमा आवास व्यवस्थापन गरिने हमालले बताए ।

‘प्रतियोगिता सञ्चालनमा कुनै समस्या छैन’

काउन्टडाउनको शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगामी १६ मंसिरमा दशौँ राष्ट्रिय खेलकुदको भव्य समुद्घाटन हुने घोषणा गरे । प्रतियोगिताको तयारी र सुनिश्चितताका लागि औपचारिक दिनगन्ती सुरु गरिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले प्रतियोगिता सम्पन्न गर्न विभिन्न चुनौती रहे पनि तिनको सामना गर्दै निर्धारित कार्ययोजनाअनुसार अघि बढिरहेकाले कुनै समस्या नभएको स्पष्ट पारे । ‘पूर्वाधार निर्माण तथा खेलाडीको तयारीका लागि नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, कर्णाली प्रदेश सरकार र स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका गरी तीनै तहका सरकार संयुक्त रूपमा खटिरहेको छ,’ उनले भने ।

तयारीका क्रममा देखिएका चुनौतीलाई सकारात्मक ढङ्गले सामना गरेर नतिजा निकाल्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री शाहीले छोटो समयको तयारीका कारण केही व्यावहारिक वा व्यवस्थापकीय अपुगता रहनसक्ने स्वीकार गरे । तयारीका क्रममा कुनै कमीकमजोरी वा अपुगता देखिएमा सञ्चारकर्मी, नागरिक समाज तथा खेलप्रेमीलाई रचनात्मक सल्लाह र सुझाव दिन उनले आग्रह गरे । प्राप्त सुझावलाई आत्मसात् गर्दै कमजोरी सुधार्न सरकार पूर्ण रूपमा कटिबद्ध रहने मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि