सर्लाही । सर्लाहीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ३ सय केजी सयपत्री फूलसहित दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीअन्तर्गत बीओपी मधुवनीबाट खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले गोडैता नगरपालिका–१२ स्थित मधुवनी सीमा क्षेत्रबाट उक्त फूल र मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक माधव खत्रीको कमान्डमा खटिएको टोलीले २०८३ कात्तिक २१ गते साँझ करिब ५ बजे भारतबाट बीआर ३० एडी ८९०५ र बीआर ०६ एयू ८७१३ नम्बरका मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सयपत्री फूल फेला पारेको थियो ।
प्रहरी टोलीलाई देखेपछि मोटरसाइकलमा फूल ल्याउने व्यक्तिहरू सामान छाडेर फरार भएका थिए । बरामद फूलको मूल्य करिब एक लाख रुपैयाँ र दुईवटा मोटरसाइकलको मूल्य तीन लाख रुपैयाँ गरी कुल चार लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको करिब ३ सय केजी फूल २०८३ कात्तिक २२ गते मलंगवास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्मको परिसरमा नेपाल प्रहरी, पत्रकार तथा भन्सार कर्मचारीको रोहबरमा नष्ट गरिएको छ ।
त्यस्तै, बरामद दुवै मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।