हामी धेरैलाई लाग्छ– क्यान्सर चुरोट, रक्सी, खानामा मिसिएको विषादी वा वंशाणुगत रूपमा सरेका डीएनएका गल्तीहरूबाट हुने रोग हो । यी सबै क्यान्सरका कारण हुन् । तर, क्यान्सरका कारण यति मात्रै होइनन् ।
एउटा अर्को पनि कारण छ, जसबारे हामी धेरैलाई थाहा नहुन सक्छ । त्यो हो, भाइरसको संक्रमण । सुन्दा अचम्म लाग्न सक्छ, संसारका हरेक आठमध्ये करिब एक नयाँ क्यान्सरको पछाडि कुनै न कुनै संक्रमणको कारणले हुन्छ ।
रुघाखोकी गराउने धेरैजसो भाइरस हाम्रो शरीरमा स्थायी रूपमा बस्दैनन् । संक्रमण हुन्छ, भाइरसले आफ्नो संख्या बढाउँछ, हाम्रो प्रतिरक्षा प्रणालीले त्यसलाई नियन्त्रण गर्छ र केही समयपछि हामी निको हुन्छौँ । तर, सबै भाइरसको कथा यस्तो हुँदैन । केही भाइरस यस्ता पनि हुन्छन्, जसले हाम्रो शरीरमा एकपटक संक्रमण गरेपछि लुकेर वर्षौंसम्म र कतिपय अवस्थामा जीवनभर डेरा जमाएर बस्न सक्छन् ।
पाठेघरको मुखको क्यान्सर, कलेजोको क्यान्सर, आमाशयको क्यान्सर र अरु केही क्यान्सर यसका उदाहरण हुन् । केही क्यान्सर भाइरसका कारण हुन्छन् र केही ब्याक्टेरियाका कारण । तर, शरीरमा भाइरस हुनु र क्यान्सर हुनु एउटै कुरा होइन ।
आखिर, शरीरमा लुकेर बसेको सामान्य भाइरसले क्यान्सरजस्तो गम्भीर रोग कसरी निम्त्याउँछ ? यसको उत्तर बुझ्नभन्दा पहिले हाम्रो शरीरभित्र क्यान्सर कसरी हुन्छ, त्यो बुझ्न जरुरी हुन्छ ।
क्यान्सर के हो ?
हाम्रो शरीर खर्बौं कोष मिलेर बनेको हुन्छ । हरेक कोषभित्र एउटा निर्देशन पुस्तिका हुन्छ, जसलाई डीएनए भनिन्छ । कोष कहिले बढ्ने, कहिले विभाजित हुने, कहिले आफ्नो काम गर्ने र कहिले नष्ट हुने; नियमन डीएनएमा भएका जिनहरूले गरिरहेका हुन्छन् ।
जस्तै; हात काटियो भने घाउवरिपरिका कोष विभाजित हुन्छन् । घाउवरिपरि नयाँ कोष बनेर घाउ पुर्छन् । घाउ पुरिएपछि कोष विभाजन पनि रोकिन्छ । यसरी शरीरले कोष बनाउने र हटाउने प्रक्रियाबीच सन्तुलन कायम राखेको हुन्छ । आवश्यक पर्दा कोषहरू विभाजित हुन्छन् र काम सकिएपछि रोकिन्छन् । कतिबेला के गर्ने भन्ने निर्देशन कोषभित्रकै डीएनएले गरिरहेको हुन्छ ।
कुनै कारणले डीएनएमा परिवर्तन आयो भने कोष विभाजन बढाउने र त्यसलाई नियन्त्रण गर्ने प्रणालीमा गडबडी हुन सक्छ । सामान्य अवस्थामा कोष विभाजन रोक्नुपर्ने संकेतले काम गर्न छोड्छ वा निरन्तर विभाजित हुन उक्साउने संकेत सक्रिय हुन सक्छन् । डीएनएको क्षति मर्मत गर्ने प्रणालीसमेत बिग्रियो भने यस्ता परिवर्तन अझै थपिँदै जान्छन् ।
यसरी डीएनएका गल्तीहरू थपिँदै जाँदा कोषहरू मनमोजी बन्छन् । निरन्तर विभाजित भइरहेर ट्युमर (गाँठो) बनाउँछन् र शरीरका अरु भागमा पनि फैलिन सुरु गर्छन् । क्यान्सर भनेको नै यही हो- कोषहरूको मनमोजी विभाजन ।
चुरोटको धुवाँ, घामको परावैजनी किरण र केही रासायनिक पदार्थले डीएनएमा यस्तो क्षति गर्न सक्छन् । क्यान्सरको जोखिम बढाउने यी बाहिरी तत्त्वलाई क्यान्सरका कारक तत्त्व वा ‘कार्सिनोजिन’ भनिन्छ । तर, डीएनएमा परिवर्तन ल्याउने सबै कारण बाहिरबाट आउनु पर्दैन ।
कोष विभाजन हुँदा डीएनएको प्रतिलिपि बनाउने क्रममा पनि गल्ती हुन सक्छ । हाम्रो शरीरले हरेक दिन अर्बौं नयाँ कोष बनाउँछ र प्रत्येकपटक पूरै डीएनएको नयाँ प्रतिलिपि बनाउनुपर्छ । हाम्रा कोषहरू यो काममा निकै सिपालु छन्, तर हजारौँ पानाको किताब अनगिन्तीपटक सार्दा कतै न कतै अक्षर छुटिहाल्छ नै ।
त्यसैगरी, केही भाइरसले कोषको विभाजन गर्ने प्रणालीलाई नै अपहरण गर्न सक्छन्: केहीले विशेष जिनका गतिविधि बदल्छन्, केहीले डीएनएमा आफ्नै डीएनए घुसाउँछन् । अनि केही भाइरस डीएनएभित्र छिर्न नसके पनि शरीरका विभिन्न कोषहरूमा जीवनभर लुकेर बस्न सक्छन् । केहीले लुकेका कोषहरूमा निरन्तर सूजन (इनफ्लाममेसन) गराउँछन् र क्यान्सरका लागि अनुकूल वातावरण बनाइदिन्छन् । केही जीवनभर निदाएर बसेका हुन्छन् र शरीरको प्रतिरक्षा प्रणाली तलमाथि भयो भने मात्रै बिउँझन्छन् र आफू लुकेर बसेको कोषको मनमोजी विभाजन सुरु गरिदिन्छन् ।
हाम्रो शरीरमा क्यान्सर गराउन सक्ने क्षमता भएका यस्ता भाइरसलाई अंकोभाइरस भनिन्छ । यिनले गर्ने काम एउटै हुँदैन, तर यिनीहरू सक्रिय भए भने कोषको नियमन बिग्रिन्छ र क्यान्सर बन्न सक्छ ।
भाइरसले क्यान्सर गराउँछ भनेर हामीले थाहा पाएको मान्छेमा होइन, क्यान्सरजन्य भाइरसको खोज एउटा कुखुराबाट सुरु भएको थियो ।
कुखुराको गाँठोमा भेटाइएको क्यान्सरजन्य भाइरस
सन् १९०९ मा एक अमेरिकी किसान छातीमा ट्युमर पलाएको आफ्नो कुखुरा लिएर न्यु योर्कका डाक्टर पेटन राउसकहाँ पुगेका थिए । उनले त्यो ट्युमर निकालेर पिसे । ब्याक्टेरियासम्म छिर्न नसक्ने चाल्नीबाट छाने र छानिएको सफा झोल अर्को स्वस्थ कुखुरामा सुईबाट हाले ।
केही हप्तापछि स्वस्थ कुखुरामा पनि उस्तै ट्युमर पलायो ।
यो साधारण प्रयोग थिएन । ट्युमर पिसेर बनाइएको झोलमा ट्युमरका कोष थिएनन् । ब्याक्टेरिया पनि चाल्नीबाट छानिइसकेका थिए । तैपनि रोग सरेको थियो । त्यसैले राउसले ट्युमर गराउने कारक आफूले देख्न नसकेको, चाल्नीबाट छिर्न सक्ने अत्यन्त सानो कण हुन सक्ने निष्कर्ष निकाले ।
क्यान्सरबाट भाइरसलाई कुनै फाइदा हुँदैन । क्यान्सर आफैँ भाइरस फैलाउने उपाय होइन, क्यान्सरले भाइरसलाई अर्को मान्छेसम्म पुर्याउँदैन । भाइरसका लागि क्यान्सर एउटा दुर्घटना मात्र हो ।
पछि त्यो कारक भाइरस भएको पुष्टि भयो । त्यसलाई राउस सार्कोमा भाइरस भनियो । तर, त्यस समयका वैज्ञानिकले कुखुरामा भएको यो प्रयोगलाई मानिसको क्यान्सरसँग जोडेर हेर्न सजिलै मानेनन् । भाइरसले पनि क्यान्सर गराउन सक्छ भन्ने विचार स्थापित हुन धेरै समय लाग्यो । भाइरसले क्यान्सर गराउँछ भनेर सन् १९११ मै देखाएका राउसले नोबेल पुरस्कार पाउन अर्को ५५ वर्ष कुर्नुपरेको थियो ।
उसो त भाइरस आफैँ पत्ता लागेको इतिहास पनि यस्तै छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर युरोपका सुर्ती किसानलाई पातमा छिर्केमिर्के दाग देखिने टोबाको मोजाइक रोगले सताएको थियो । रोग लागेको पात पिसेर अर्को स्वस्थ बिरुवामा लगाउँदा रोग सर्थ्यो । तर, माइक्रोस्कोपमा हेर्दा त्यसको कारण हुन सक्ने कुनै ब्याक्टेरिया भेटिँदैनथ्यो ।
सन् १८९२ मा रुसी वैज्ञानिक दिमित्री इभानोभ्स्कीले रोग लागेको पातको रस ब्याक्टेरिया छिर्न नसक्ने चाल्नीबाट छाने । छानिएको रसले पनि रोग सारेपछि उनले रोगको कारक सामान्य ब्याक्टेरियाभन्दा सानो हुन सक्ने सम्भावना देखाए । सन् १८९८ मा डच वैज्ञानिक मार्टिनस बेइजेरिङ्कले उही प्रयोग दोहोर्याएर यो ब्याक्टेरियाभन्दा फरक, नयाँ किसिमको रोग सार्ने चीज हो भन्ने निष्कर्ष निकाले र त्यसलाई ‘भाइरस’ भने ।
भाइरस ल्याटिन शब्द हो र यसको अर्थ विषाणु हुन्छ । राउसले पछि कुखुराको ट्युमरमा पनि यही तरिका प्रयोग गरेका थिए । भाइरसलाई मान्छेले पहिलोपटक आँखाले देख्न भने सन् १९३९ मा इलेक्ट्रोन माइक्रोस्कोपबाट टोबाको मोजाइक भाइरसको तस्वीर नखिचिएसम्म कुर्नुपर्यो ।
मान्छेमा भेटिएको पहिलो क्यान्सर भाइरस
सन् १९५० को दशकमा युगान्डामा काम गरिरहेका चिकित्सक डेनिस बर्किटले बालबालिकाको बङ्गारा असामान्य रूपमा सुन्निने एउटा आक्रामक क्यान्सर देखेका थिए । अफ्रिकाका विभिन्न क्षेत्रमा यो रोग कहाँ बढी देखिन्छ भनेर नक्सामा उतार्दा उनले एउटा भौगोलिक ढाँचा भेटे । गर्मी र धेरै वर्षा हुने, लामखुट्टे धेरै हुने र औलो व्यापक रूपमा फैलिने क्षेत्रमा यो क्यान्सर बढी देखिन्थ्यो ।
बर्किटले लामखुट्टेले सार्ने कुनै संक्रमण यस रोगसँग सम्बन्धित हुन सक्ने अनुमान गरे । उनले देखेको बङ्गाराको क्यान्सरलाई अहिले ‘बर्किट लिम्फोमा’ भनिन्छ । यसको कारण भने लामखुट्टेले सिधै क्यान्सर गराउने भाइरस सार्ने कुरा नभई औलो र अर्को भाइरसबीचको जटिल सम्बन्ध रहेको केही वर्षपछि मात्रै थाहा भयो ।
सन् १९६१ मा लन्डनमा बर्किटले आफ्नो खोजबारे प्रस्तुत गर्दा दर्शकदीर्घामा रोगको कारण खोजिरहेका एन्थोनी एप्स्टेन पनि थिए । उनले बर्किटबाट क्यान्सरका नमुना मगाएर अनुसन्धान सुरु गरे ।
सन् १९६४ मा उनी र उनका सहकर्मी बर्ट अचोङ र इभोन बारले इलेक्ट्रोन माइक्रोस्कोपमा हेर्दा क्यान्सर कोषभित्र एकखाले भाइरस भेटाए । मान्छेमा क्यान्सरसँग जोडिएको पहिलो भाइरसलाई आज हामी एप्स्टेन–बार भाइरस वा छोटकरीमा ‘ईबीभी’ भन्छौँ ।
आज ईबीभीले मानिसको शरीरमा कस्तो भूमिका खेल्छ भन्ने धेरै कुरा बुझिसकिएको छ । तर, यसको कथाभन्दा पहिले एउटा महत्त्वपूर्ण कुरा विचार गर्नुपर्छ: शरीरमा भाइरसले संक्रमण गर्नु, कोषहरूमा डेरा जमाएर बस्नु र त्यसबाट क्यान्सर बन्नु तीन फरक-फरक घटना हुन् ।
अंकोभाइरस अरु भाइरसभन्दा के फरक छन् ?
क्यान्सर गराउन सक्ने ईबीभीजस्ता भाइरसहरूलाई अंकोभाइरस भनिन्छ । ग्रीक शब्द ‘ओन्कोस’को अर्थ ट्युमर वा गाँठो हो, अर्थात् ट्युमर बनाउन सक्ने भाइरस । अहिलेसम्म मान्छेमा क्यान्सरसँग पक्का जोडिएका सात भाइरस भेटिएका छन् । तर, यिनलाई बुझ्नभन्दा पहिले अरु भाइरसहरू कस्ता हुन्छन्, त्यो बुझ्नुपर्छ ।
भाइरस आफैँमा निर्जीव कण हो, आफै बाँच्न र आफ्नो संख्या बढाउन सक्दैन । त्यसका लागि यसलाई जीवित कोष चाहिन्छ । यसले कुनै जीवित कोषभित्र पसेर त्यही कोषको यन्त्र प्रयोग गरेर मात्रै आफ्ना प्रतिलिपि बनाउन सक्छ ।
रुघाखोकी, इन्फ्लुएन्जा वा कोभिडका भाइरस छोटो बसाइका पाहुना हुन् । कोषमा पस्छन्, धेरै प्रतिलिपि बनाउँछन्, कोषलाई फुटाएर मार्छन् र अर्को मान्छे खोज्दै निस्किहाल्छन् । त्यसपछि शरीरको प्रतिरक्षा प्रणालीले तिनलाई नियन्त्रण गर्छ र केही दिनमै धपाइहाल्छ । प्रतिरक्षा प्रणालीमा संक्रमणको प्रभाव र स्मरण भने लामो समयसम्म बसिरहेको हुन्छ ।
तर, हर्पिस परिवारका ईबीभीजस्ता केही भाइरसले भने संक्रमणपछि आफ्नो आनुवंशिक सामग्री (डीएनए) शरीरका कोषमा निष्क्रिय अवस्थामा कायम राख्न सक्छन् । तिनले कोष तुरुन्तै मार्दैनन्, बरु त्यसैभित्र डेरा जमाएर वर्षौंसम्म बस्छन् । यस अवस्थालाई सुषुप्त संक्रमण भनिन्छ । यस्तो भाइरस समय–समयमा पुनः सक्रिय हुन सक्छ, यद्यपि त्यसले सधैँ लक्षण देखाउँछ भन्ने हुँदैन ।
यस्ता भाइरसका लागि जति धेरै कोष, उति धेरै घर । त्यसैले त तिनले कोषलाई विभाजित हुन उक्साउँछन्- गाडीको ब्रेक खुकुलो पारेर एक्सिलेरेटर थिचेजस्तै । हेपाटाइटिसका भाइरसजस्तै केहीले भने त्यसो गर्दैनन्, बरु कलेजोलगायतका अंगहरूमा वर्षौंसम्म घाउ र सुजन (इनफ्लामेसन) गराइराखेर क्यान्सरको बाटो सजिलो बनाउँछन् । सबै क्यान्सरजन्य भाइरसले एउटै तरिकाले काम गर्दैनन् ।
तर, शरीरमा भाइरसले डेरा जमाएर बसेको छ भन्दैमा मात्रै क्यान्सर हुँदैन । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीमा ‘टी–सेल’ नामका कोषहरू हुन्छन्, जसले शरीरको पहरेदारको काम गर्छन् । यिनीहरू अस्वाभाविक व्यवहार गर्ने कोषहरूलाई खोज्दै बसेका हुन्छन् र थाहा पाउनेबित्तिकै मारिदिन्छन् ।
त्यसैले त हामी धेरैमा अंकोभाइरस भए पनि धेरैजसोलाई कहिल्यै क्यान्सर हुँदैन । भाइरसले उक्साइरहेको कोषमा अरु गल्ती पनि थपिँदै जाँदा र प्रतिरक्षा प्रणालीले बिग्रिएका कोषहरूलाई समात्न नसक्दा मात्रै क्यान्सर हुन्छ । त्यसैले भाइरसजन्य क्यान्सर प्रायः संक्रमण भएको दशकौँपछि, धेरैजसो बुढेसकालमा देखा पर्छ, जब शरीरका पहरेदारहरू थाकिसकेका हुन्छन् ।
रोचक कुरा त के छ भने, क्यान्सरबाट भाइरसलाई कुनै फाइदा हुँदैन । क्यान्सर आफैँ भाइरस फैलाउने उपाय होइन, क्यान्सरले भाइरसलाई अर्को मान्छेसम्म पुर्याउँदैन । भाइरसका लागि क्यान्सर एउटा दुर्घटना मात्र हो ।
संसारका अधिकांश मानिसमा ईबीभी भाइरस छ, तर थोरैलाई मात्रै क्यान्सर हुन्छ । हामीले थाहा पाएको ईबीभीबाहेक अरु ६ वटा भाइरस र एउटा ब्याक्टेरियाले क्यान्सर गराउन सक्छन् । हामी प्राय: सबैको शरीरमा डेरा जमाएर बस्ने यिनै क्यान्सरजन्य भाइरस, तिनले गराउने क्यान्सर र बाँच्ने उपायका बारेमा म अर्को भागमा लेख्नेछु ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।