सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

पर्यटन

१३ हिमचुचुराको अवलोकन गर्न सकिने मर्दी पदयात्रा

१३  हिमचुचुराको अवलोकन गर्न  सकिने मर्दी पदयात्रा

कास्की, २२ कात्तिकः छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ ।

पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ । छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यटक पदयात्रामा आकर्षित छन् ।

मर्दी हिमाल पदमार्ग व्यवस्थापन समितिका अनुसार पछिल्लो समय दैनिक छ सयदेखि ७०० जनासम्म पर्यटक यस पदमार्गमा पदयात्राका लागि जाने गरेका छन् । विशेषगरी दसैँ–तिहारको समय र अनुकूल मौसमका कारण पर्यटकको आगमन बढ्दा उनीहरूको आवास तथा अन्य व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको बताउनुभयो । उहाँका अनुसार असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

पर्यटकको सङ्ख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । मर्दीको हाइक्याम्पमा १४ वटा होटल सञ्चालनमा छन् । प्रत्येक होटलमा २५ भन्दा बढी शय्या राख्न नपाइने व्यवस्था रहेकाले मुख्य पर्यटकीय याममा पर्यटकले सहजै बास नपाउने समस्या देखिएको छ ।

“मर्दीमा अघिल्लो वर्षभन्दा यस पटक पर्यटक धेरै आउनुभएको छ । फरेष्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पर्यटक राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्ने गरेको छ,” अध्यक्ष तामाङले भन्नुभयो ।

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । पर्यटकको बढ्दो आकर्षणलाई कायम राख्दै उनीहरूलाई सहज सेवा दिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्ग पोखराबाट नजिकै रहेकाले छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य हो । माछापुच्छ«ेको गाउँपालिकाको घलेल, कालीमाटी र सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तीनदेखि चार दिनमा यो पदयात्रा पूरा गर्न सकिन्छ ।

जङ्गल, गुराँसे वन, अग्ला पहाड र खुला डाँडाकाँडा हुँदै अघि बढ्दा पदयात्रीले मर्दी हिमालसँगै माछापुच्छ«े, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम र गङ्गापूर्णलगायत हिमालको मनोरम दृश्य अवलोकन गर्न पाउँछन् । पदयात्राका क्रममा फेरिइरहने प्राकृतिक दृश्य, चिसो हावापानी र शान्त वातावरणले यस क्षेत्रको आकर्षण थप बढाएको छ ।

आन्तरिक पर्यटक नारायण कँडेलका अनुसार मर्दी हिमाल पदमार्गको मुख्य विशेषता छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु हो । “यहाँको शान्त वातावरण र मनोरम दृश्यले पदयात्रालाई निकै रमाइलो बनाउँछ । छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन पाउनु यसको विशेषता हो,” उहाँले भन्नुभयो ।

समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर यस पदयात्राको मुख्य आकर्षण हो । फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै आधार शिविर पुग्ने पदयात्रीले यात्राभरि हिमाली दृश्यको आनन्द लिन पाउँछन् । विशेषगरी बिहान सूर्योदयका समयमा हिमालमा देखिने सुनौलो दृश्य पर्यटकका लागि अविस्मरणीय बन्ने गरेको छ ।

मर्दी हिमालको भ्रमणमा रहनुभएकी पर्यटक निकिता कार्कीले यहाँको प्राकृतिक सुन्दरता र पदयात्राको अनुभवले आफूलाई आकर्षित गरेको बताउनुभयो । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक छ । पदयात्राका क्रममा देखिने हिमाल र यहाँको वातावरणले थकान पनि बिर्साइदिन्छ,” उहाँले भन्नुभयो ।

इटलीबाट आउनुभएका पर्यटक इन्ट्राले पनि मर्दी हिमालको प्राकृतिक वातावरण र हिमाली दृश्य निकै आकर्षक रहेको बताउनुभयो । पदयात्राका क्रममा देखिने हिमाल र शान्त वातावरणले आफूलाई विशेष अनुभव दिएको उहाँको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनले पदमार्ग आसपासका बस्तीमा आर्थिक गतिविधिसमेत विस्तार हुँदै गएको छ । होटल, रेस्टुरेन्ट, चियापसल तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा चहलपहल बढेसँगै स्थानीयवासीले रोजगारी र आम्दानीका अवसर प्राप्त गरेका छन् । विशेषगरी लो क्याम्प, हाइक्याम्प तथा आसपासका क्षेत्रमा सञ्चालित होटल व्यवसाय पर्यटकको आगमनबाट लाभान्वित भएका छन् ।

हाइक्याम्पस्थित होटल व्यवसायी कविता अर्याल गौतमका अनुसार पछिल्लो समय मर्दी हिमाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । “पर्यटकको आगमन बढ्दा होटल व्यवसायसँगै स्थानीयको आम्दानी र रोजगारीका अवसर पनि बढेका छन् । यसले यहाँका पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको मर्दी हिमालमा पर्यटकको आकर्षणसँगै संरक्षण र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

पर्यटकको बढ्दो चापलाई दृष्टिगत गर्दै पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि