सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

म्यान्मामा तेलका कुवामाथि द्वन्द्व

म्यान्मामा तेलका कुवामाथि द्वन्द्व

मध्यपूर्वको युद्धले इन्धन आपूर्तिमा दबाब बढाएपछि म्यान्माको सुक्खा मध्य क्षेत्रमा रहेका साना तेल उद्योगहरू गृहयुद्धको निशाना बनेका छन् । तेलको बढ्दो मूल्यसँगै विद्रोही र सेनाबीच कुवा नियन्त्रणको प्रतिस्पर्धा चर्किँदा मजदुरहरू जोखिममा परेका छन् ।

म्यान्माले आवश्यक इन्धनको करिब ९० प्रतिशत आयात गर्ने गरेको छ । म्यागवे क्षेत्रको मियाङमा स्थानीय उत्पादकहरूले परम्परागत प्रविधिबाट तेल निकाल्दै आएका छन् । ‘अन्यार दुबई’ नामले चिनिने यस क्षेत्रमा काम गर्ने मजदुरले सातामा करिब ५० अमेरिकी डलर कमाउँछन् । तर, दुवै पक्षको आक्रमणबाट जोगिन पटकपटक भाग्नुपर्ने अवस्था रहेको एक मजदुरले बताएका छन् ।

विद्रोहीहरूले सन् २०२३ देखि यस क्षेत्रका तेल कुवा नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन् । यस वर्ष यहाँ भएका हवाई तथा ड्रोन आक्रमण सन् २०२५ भरिको भन्दा बढी भएको द्वन्द्व निगरानी संस्था एसिएलइडीले जनाएको छ । सेनाले भने सेप्टेम्बरको कारबाहीमा मियाङ र छिमेकी पकोक्कुका ८६५ भन्दा बढी कुवा कब्जा गरेको दाबी गरेको छ ।

सन् २०२१ को सैनिक ‘कू’ पछि चर्किएको गृहयुद्धमा सबै पक्षले प्राकृतिक स्रोतबाट आम्दानी जुटाउँदै आएका छन् । अन्तर्राष्ट्रिय सङ्कट समूहका म्यान्मासम्बन्धी वरिष्ठ सल्लाहकार थोमस किनका अनुसार साना तेल उद्योगको उत्पादन विश्व बजारका लागि ठूलो नभए पनि विद्रोहीलाई युद्ध सञ्चालन गर्न आवश्यक आम्दानी जुटाउन पर्याप्त छ । म्यान्मामा गत वर्ष दैनिक करिब छ हजार ब्यारेल तेल उत्पादन भएको अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्याङ्क छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि