सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

स्थानीय प्रहरी अधिकारी फैसल खानका अनुसार अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको कोहात जिल्लामा उक्त आक्रमण भएको हो ।
उहाँले मृतक प्रहरीमध्ये दुई जना वरिष्ठ अधिकृत रहेको बताउनुभयो । सुरक्षा बल र आक्रमणकारीबीच गोली हानाहान जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । यद्यपि, घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि, यसमा ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) को संलग्नता रहेको आशङ्का गरिएको छ । उक्त समूहले पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बलमाथिका आक्रमण तीव्र बनाउँदै आएको छ ।

पाकिस्तानमा पछिल्ला वर्षहरूमा हिंसात्मक घटनामा वृद्धि भएको छ । यस्ता घटनाका लागि अधिकांशतः टीटीपीलाई जिम्मेवार ठह¥याइने गरिएको छ । यो समूह अफगान तालिबानभन्दा फरक भए पनि उनीहरूसँग निकट सम्बन्ध राख्छ । सन् २०२१ मा अफगान तालिबान छिमेकी मुलुक अफगानिस्तानको सत्तामा पुनः फर्किएको थियो ।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि टीटीपीका लडाकुलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि