सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

दुर्घटना

भीमफेदीको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसको दुःख व्यक्त

भीमफेदीको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसको दुःख व्यक्त

काठमाडौँ, २७ कात्तिकः नेपाली कांग्रेसले भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बिहीबार मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र छ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय गाडी (इभी) बिहीबार बिहान दुर्घटना भएको थियो ।

नेपाली कांग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी जीवन गुमाउनुहुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

“मृतकका परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गर्दछ,” नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि