काठमाडौं महानगरपालिकाले १३ देखि १५ कात्तिकसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरू सहभागी हुने भएका छन् ।
फेस्टिभलमा भारतीय अभिनेत्री आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत सहभागी हुनेछन् ।
काठमाडौंको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त र अमूर्त सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । फेस्टिभलले काठमाडौंका ओझेलमा परेका कथाको खोजी गर्नुका साथै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने अपेक्षा गरिएको छ ।
फेस्टिभलका क्रममा उद्घाटन समारोह, सम्पदा यात्रा, रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास तथा अवार्ड समारोह आयोजना गरिनेछ । नेपाली कलाकार, चलचित्र निर्माता, वितरक, प्रवर्द्धक, प्रदर्शक र चलचित्र विधामा अध्ययनरत विद्यार्थीसमेत विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
अभिनेत्री शबाना आजमीले १४ कात्तिकमा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा भाग लिनेछिन् । त्यस्तै, दीप्ति डीकुन्हा ‘सिर्जनात्मक सहरहरूको प्रवर्द्धनका लागि चलचित्र र महोत्सव’ विषयक प्यानल छलफलमा सहभागी हुनेछिन् ।
जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले १४ कात्तिकमा राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटीका सर्ट फिल्मसम्बन्धी परिचयात्मक प्रस्तुति दिने कार्यक्रम छ ।
१५ कात्तिकमा नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवमा चलचित्र सौन्दर्यशास्त्रको महत्त्व’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन् । सोही दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफल पनि हुनेछ ।
महानगरपालिकाले नेपाली पुराना चलचित्रको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ चलचित्रको विशेष प्रदर्शन गर्ने जनाएको छ । फेस्टिभलमा अन्तर्राष्ट्रिय तथा नेपाली कथानक चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछन् ।
७५ चलचित्रबाट १० छनोट, प्रत्येकलाई एक लाख पुरस्कार
फेस्टिभलअन्तर्गत ‘नेपाल पानोरामा सर्ट्स’ विधामा खुला आह्वानबाट प्राप्त ७५ चलचित्रमध्ये १० वटा प्रदर्शनका लागि छनोट गरिएका छन् । छनोट भएका प्रत्येक चलचित्रलाई महानगरपालिकाले एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार दिनेछ ।
त्यस्तै, युवालाई लक्षित ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकको सर्ट भिडियो च्यालेन्जमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल पानोरामा सर्ट्समा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका छन् ।
‘माई कल्चर, माई हेरिटेज’ विधामा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौं’, सौगात सापकोटाको ‘झिँगु छेँ (माई होम)’, नर्जुङ बुढाथोकीको ‘बिहाइन्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठी’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र पनि प्रदर्शन गरिने
फेस्टिभलको ‘इन्टरनेसनल पानोरामा’ अन्तर्गत जय नेपाल सिनेमा घरमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन् । प्रदर्शन हुने चलचित्रमा लान हङचाउ निर्देशित चिनियाँ चलचित्र ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय चलचित्र ‘बयान’, जुलियन न्युहवास निर्देशित अस्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अस्ट्रेलियन–मंगोलियन चलचित्र ‘स्टेयर्स’ र टम पाइजेट निर्देशित अमेरिकी चलचित्र ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’ लगायत छन् ।
त्यस्तै, ‘द किङ्स वार्डेन’, ‘नट अ हिरो’, ‘नो गुड मेन’ र फ्रान्सिस फोर्ड कोपोलाको ‘गडफादर’ पनि प्रदर्शन गरिनेछ । समापन अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली र अस्ट्रेलियन सहकार्यमा बनेको चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गर्ने कार्यक्रम छ । जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यु पिपुल, भ्यु सिटिज’ पनि प्रदर्शन गरिनेछ ।
महानगरपालिकाका अनुसार फेस्टिभलको उद्देश्य स्थानीय कलाकार तथा चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विस्तार गर्न सहयोग गर्नु र अन्तर्राष्ट्रिय कलाकारलाई काठमाडौंका टोल, बस्ती तथा समुदायसँग जोड्नु हो । चलचित्र क्षेत्रलाई प्राज्ञिक तथा प्राविधिक उद्योगका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यसमेत राखिएको छ ।
फेस्टिभलमा चलचित्र प्रदर्शन निःशुल्क हुनेछ । दर्शकले सिट सुरक्षित गर्न भने निःशुल्क टिकट लिनुपर्ने महानगरपालिकाका प्रवक्ता मानन्धरले जानकारी दिए ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।